| आइतवार, कार्तिक २२, २०८३

गाउँपालिकाको कार्यालय सञ्चालन नभएको भन्दै चुमनुब्रीका बासिन्दा आन्दोलित

लामो समयदेखि गाउँपालिकाको कार्यालय सञ्चालन नभएको भन्दै हिमालपारिको चुमनुब्री गाउँ पालिकाका बासिन्दा आन्दोलित भएका छन् ।
प्रमुख प्रशासकीय अधिकृतलगायत गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरु सदरमुकाममा बस्ने र कार्यालय पनि सदरमुकामबाटै सञ्चालन गरेको भन्दै उनीहरुले सदरमुकामको कार्यालय बन्द गरी गाउँपालिकाको केन्द्रमै कार्यालय सञ्चालन गर्न माग गरेका हुन् ।

‘वडा नं. १, २, ७ का सेवाग्राहीहरु दुई दिनको बाटो हिडेर गाउँपालिकाको केन्द्र आउनु हुन्छ तर गाउँपालिकाका सबै कर्मचारी सदरमुकामतिरै हुनुहुन्छ । अत्यन्त जरुरी काम पर्दा सेवाग्राहीहरु पाँच दिन, छ दिनको पैदल बाटो हिडेर सदरमुकाम पुग्नुपर्छ’, जनता समाजवादी पार्टीका गाउँपालिका प्रमुख गणेश कार्कीले भने, ‘बरु राणाका पालामा, राजाका पालामा गाउँमा कर्मचारी बस्थे ।

प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आएपछि त झन कर्मचारीहरु गाउँमै आउन छाडे । जनताले धेरै दुख पाउन थाले ।’ पालिकाका कर्मचारी कार्यालयमा बस्न छाडेपछि यसअघिदेखि सञ्चालित सीमा प्रशासन र सेवाकेन्द्रका कर्मचारी पनि कार्यालयमा बस्न छाडेर सदरमुकामतिरै बस्ने गरेको उनले बताए ।
साथै हरेक पालिकामा एउटा वैँकको शाखा रहने व्यवस्थाअनुसार फिलिममा स्थापित वैँकमा पालिकाले खाता सञ्चालन नगरेको प्रति पनि स्थानीय उपभोक्ता समिति दुखित छन् । ‘गाउँमा कुमारी वैँक छ तर पालिकाले खाता सञ्चालन गरेको छैन ।

उपभोक्ता समितिलाई पनि खाता खोल्न सदरमुकाम पठाउँछ’, कार्की भन्छन्, ‘कुमारी वैँकमा खाता सञ्चालनको व्यवस्था मिलाइदिनु भनेर गतबर्षको मंसीर ११ गते कुमारी वैँकले गाउँपालिकामा पत्राचार गरेको रहेछ । तर पालिकाले वास्ता गरेन । फेरि वैँकले सोही व्यहोराको चिठी कोष तथा लेखा नियन्त्रकको कार्यालय गोरखामा पत्राचार गरेको रहेछ । कोलेनिकाले गाउँपालिकालाई पनि पत्राचार गरेको रहेछ ।

तर पालिकाले अटेरी गरिरहेको छ ।’
गाउँपालिकाले सेवाग्राहीलाई दुख दिदै गएको भन्दै जनता समाजवादी पार्टी, चुमनुब्री गाउँ कार्यसमितिले बिहिबार बिरोध कार्यक्रम गरेको छ ।
सो पार्टीको नेतत्वमा सम्पन्न सर्वदलीय, सर्वपक्षीय भेलाले उपभोक्ता समितिले गाउँकै वैँकमा खाता खोली काम गर्न पाउने व्यवस्था मिलाउन आग्रह गर्ने निर्णय गरेको छ । त्यस्तै पालिकाका कर्मचारीहरु नियमित रुपमा पालिकाका सबै कार्यालयमा रहेर सेवा प्रवाह गर्न माग गर्ने पनि निर्णय गरेको छ ।

कर्मचारी गाउँमा नबस्दा प्रदेश सरकारले प्रवाह गरेको व्याज सहुलियतको कर्जा लिनबाट गाउँले वञ्चित भएको स्थानीयबासीको गुनासो छ । भेलामा कांग्रेस, माओवादी, एमालेका नेता, गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङ, आमा समूह, होटल व्यवसायीहरु, वुद्धिजीविहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्