| आइतवार, कार्तिक २२, २०८३

अजीरकोट र चुमनुब्री अर्गानिक गाउँपालिका

देशभर रासयनिक मल आयो, आएन, पाइयो, पाइएनलगायतका रासयनिक मलको चर्चा चलिरहेको छ । यही सन्दर्भमा कृषि ज्ञानकेन्द्र गोरखाले आवश्यक रासयनिक मल आपूर्तिका लागि जिल्लाका सबै पालिकाहरुमा पत्राचार ग¥यो ।


गोरखाका ११ स्थानीय तहमध्ये ९ वटाले पाँच हजार क्विन्टल रसायनिक मलका लागि ज्ञानकेन्द ्रसँग माग गरे । दुईवटा पालिकाले भने मलको माग नै गरेनन् । मल माग नगर्ने पालिका मध्ये एक हो तिब्बतसँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिका र अर्को हो अजिरकोट गाउँपालिका ।
चुमनुब्रीमा धान मकै खासै खेती हुँदैन ।

त्यहाँ रासयनिक मलको आवश्यकता नभएर माग गर्नु नपरेको गाउँपालिकाले जनाएको छ । त्यहाँका किसान अहिले पनि प्राङ्गारिक मल मात्रै प्रयोग गर्छन् । रसायनिक मलको खासै प्रयोग हुँदैन । ‘चुमनुब्री गाउँपालिका परापूर्व कालदेखि अर्गानिक गाउँपालिका नै हो । अहिलेसम्म पनि अर्गानिक नै छ’, प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले भने ।


रासयनिक मलको कत्तिपनि माग नगर्ने अर्को पालिका हो, ‘अजिरकोट गाउँपालिका ।’ यहाँ धान, मकै, तरकारी लगायत सबै खेती हुने जमिन छ । तर उक्त गाउँपालिकाले मल नै माग नगर्नुको मूख्य कारण हो ‘अर्गानिक अजिरकोट’ बनाउने अभियान ।
‘गाउँसभाबाट निर्णय गरेर हामीले अर्गानिक अजिरकोट घोषणा गरेका छौँ’, गाउँपालिका अध्यक्ष फणिन्द्र धितालले भने ‘रासयनिक मलको प्रयोगलाई निरुत्साहित गर्न यो अभियान अघि बढाएका हौँ ।’ स्थानीय रैथाने बालीले रासयनिक मलको प्रयोगबाट उत्पादित कृषि उपजसँग प्रतिष्पद्र्धा गर्न नसकेकाले यसैउसै रैथाने बालीलाई नै प्रवद्र्धन गर्ने निर्णय गरिएको उनले बताए ।


गाउँगाउँसम्म अन्यत्र उत्पादित रासयनिक मलको प्रयोगबाट उत्पादन भएको खाद्यान्न, तरकारी ढुवानी हुने र स्थानीय रैथाने जातका खेतीबाली लोप हुँदै गएकाले पालिकाले फरक पहिचानका लागि प्राङ्गारिक खेती गर्न सबैलाई अनुरोध गरेको जनाएको छ ।
‘सबैले पशुबस्तु नपालेको पनि हुन सक्छन्’, अध्यक्ष धितालले भने ‘अजीरकोटका लेकहरुमा ठूलो संख्यामा पशुपालन हुने भएकाले प्राङ्गारिक मल चाहिएमा गोठ भएका किसानबाट किन्न सकिन्छ ।’

सबै वडामा कच्ची सडक पुगेकाले गोठ भएको ठाउँबाट मल ढुवानी गरेर प्रयोग गर्न पालिका भित्रका किसानलाई अनुरोध गरिएको उनले बताए ।
‘हामीले रासयनिक मल खरिद तथा ढुवानीमा होईन गोठ सुधारमा अनुदान दिएका छौँ’ उनले भने, ‘किसानको गोठमा सुधार भयो भने मल उत्पादन बढ्छ । बस्तुभाउ नपाल्ने अन्य किसानलाई पनि उसले बिक्री गर्न सक्छ ।’ यसले कृषिमा आत्मनिर्भर हुन पनि सघाउ पु¥याउने उनले बताए ।
अजिरकोट गाउँपालिकाभित्र कृषिजन्य उत्पादन राम्रो हुने माटो रहेको उनले बताए ।

‘अर्गानिक उत्पादनले गुणस्तरीय बजार पाउने भयौँ । नभए भारतीय उत्पादनसँग प्रतिष्पर्धा गर्न नसक्ने भईयो’, अध्यक्ष धितालले भने । रैथानेजाति बाघमारे, आलु, झिनुवा, अनादी जस्ता रैथाने जातका अन्न लोप भएको उनले बताए । सिरानडाँडाको आलु अत्याधिक मिठो र प्रख्यात छ । रैथाने जातका र अर्गानिक बनाएर उपभोक्ताको स्वादसँग जोडेर आम्दानीको स्रोत बढाउन सकिन्छ भन्ने योजनाले रासयनिक मलको माग नगरिएको उनले बताए ।


कृषिमा कर्मचारी अभाव हुँदा आधुनिक प्रविधिबाट रैथानेबाली लगाउने, उत्पादन बढाउने तरिकाबारे टोलटोलमा पुगेर किसानलाई सिकाउन नसकिएको उनले बताए । केही किसानले अहिले पनि अन्यत्रबाट मल ल्याएर राख्ने भने गरेका छन् । ति किसानलाई बिस्तारै कम्पोष्ट मलमा अभ्यस्त बनाउने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

‘प्राङ्गारिक मलको प्रयोग गरिएन र रसायनिकको मात्र प्रयोग गरियो भने यहाँको रैथाने बिउ हराउँदै जाने र बिकासे बिउले ठाउँ पाउनेछ’ गाउँपालिका अध्यक्ष धितालले भने ‘रैथानेमा जति स्वाद अन्यमा पाईँदैन ।’

प्रतिक्रिया दिनुहोस्