| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा नेकपा एमालेको समानान्तर कमिटी गठन

गोरखामा नेकपा एमालेको ओली इतर समूहले समानान्तर कमिटी गठन गरेका छन् । नेपाल, खनाल तथा गौतम समूह भनेर चिनिएका जिल्ला नेता कार्यकर्ताहरुको सोमबार सम्पन्न भेलाले ६४ सदस्यीय नयाँ कार्यसमिति पुनर्गठन गरेको नेता हरि काफ्लेले जानकारी दिए ।


‘नेकपाका जिल्ला उपाध्यक्ष यादव बस्नेतको नेतृत्वमा भएको भेलाले ६४ सदस्यीय कमिटी पुनर्गठन गरिएको छ’, उनले भने, ‘साविक समितिको अध्यक्ष र सचिवलाई यथावतै राखिएको छ । र अरु सदस्य थपघट गरिएको छ ।’ सो भेलामा केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, प्रदेश सदस्यद्वय हरि काफ्ले र जुद्धविलाश भण्डारी उपस्थित थिए ।


हरमटारीस्थित निर्माण व्यवसायी संघको हलमा भेला सम्पन्न भएको थियो । भेलामा करिब एकसय जना सहभागी रहेको काफ्लेले बताए । ‘भेलाले १४ सदस्यीय सचिवालय पनि गठन गरेको छ’, काफ्लेले भने, ‘केपी ओलीको ज्यादति देशभर बढ्यो । त्यसैले हामीले नयाँ समिति गठन गर्न बाध्य भएका हौँ । अब हरमटारीमा नयाँ कार्यालय खोल्ने तयारी गरेका छौँ ।’ कार्यालयका लागि घर पक्कापक्की गरेको र एकदुई दिनभित्रमा कार्यालय खोल्ने उनले बताए ।


तर साविक कमिटीका जिल्ला अध्यक्ष प्रेम गुरुङले भने सोमबार पुनर्गठित कमिटीलाई अवैध भनेका छन् । ‘एमालेको नाम जनता माझ प्यारो भएकाले उहाँहरुले त्यो नाम प्रयोग गर्नुभएको होला । नाम लिन पाइन्छ तर समिति गठन गर्नु अवैधानिक हो’, गुरुङले भने, ‘उहाँहरु आफू पनि भ्रममै हुनुहुन्छ अरुलाई पनि भ्रम पार्ने प्रयास गरिरहनु भएको छ ।’


२०७५ जेठ २ गते अघि गठित साविक कमिटी ६८ सदस्यीय थियो । ओली निकट भनेर चिनिएका जिल्ला अध्यक्ष गुरुङ, सचिव कृष्ण नेपालीले यसअघि सो समिति पुनर्गठन गरी २४५ सदस्यीय जिल्ला कमिटी बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्