
गोरखाका दुई जुवाडे लम्जुङबाट पक्राउ
गोरखाको दुई जना जुवाडे लम्जुङबाट पक्राउ परेका छन् । जुवा खेल्न गोरखादेखि गएका गोरखा नगरपालिका ४ का ३१ वर्षीय सीताराम गिरी र गण्डकी गाउँपालिका २ का ३५ वर्षीय मदन पन्त उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिका ३, खुदी पुरानोबजारमा खालबाटै पक्राउ परेका हुन् ।
साथै लमजुङको मस्र्याङ्दी गाउँपालिका ३ खुदीका ४६ वर्षीय जंगबहादुर तामाङ (घरधनी), क्व्होलासोंथर गाउँपालिका २ का २२ वर्षीय तिलक घले, बेंसीसहर नगरपालिका ७ का २१ वर्षीय अनिल रिमाल, ४२ वर्षीय राजन सुयल, चितवनको भरतपुर महानगरपालिका १० का ४२ वर्षीय सुरेश केसी, भरतपूर महानगरपालिका ११ का ३४ वर्षीय विष्णु गिरी पनि उनीहरुसंगै पक्राउ परेका हुन् । जुवा खेलिरहेको अबस्थामा उनीहरुलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लम्जुङले जानकारी दिएको छ ।
उनीहरुको साथबाट नगद २ लाख ७७ हजार ३ सय ६० रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार राति १ बजेतिर स्थानीयबासी जंगबहादुर तामाङको घरमा जुवातास खेल्दै गरेको सूचना आएपछि प्रहरीले छापा मारेको थियो । प्रहरीले घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।




