
मन्दिरभित्र पूजा गर्ने रहरले दलित समुदायले बनाए आफ्नै मन्दिर
मन्दिरभित्रै गएर भगवानको मुर्तिमा पूजा गर्ने गोरखा नगरपालिका वडा नम्बर ५ की शान्ति मग्रातीको रहर अब पूरा भएको छ । मन्दिरभित्रै गएर पूजा गर्ने रहरले स्थानीय दलित समुदायले आफैआफै मिलेर मन्दिर निर्माण गरेपछि उनीजस्तै त्यहाँका अन्य दलित समुदायले पनि मन्दिरभित्रै गई पूजा गर्ने रहर पूरा हुने भएको हो ।
अहिलेसम्म उनीहरु विभिन्न मन्दिरमा पूजा गर्दा बाहिरबाट मात्रै गर्ने गर्थे ।
‘दलित भएर पनि मन्दिरभित्रै गएर पूजा गरेकी भन्लान् भन्ने डरले हामी बाहिरबाटै मात्रै पूजा गथ्र्यौँ’ आईतवार फागुपूर्णिमाको अबसर पारेर गोरखा नगरपालिका ५ मैदान दलित गुठीले निर्माण गरेको मन्दिर उद्घाटनका क्रममा भेटिएकी उनले थपिन् ‘अब हामीले पनि मन्दिरभित्र भगवानको पाउमा पूजा गर्न पाउने भयौँ ।’
आफ्नै गुठी समाजले मन्दिर निर्माण गरेपछि शान्तिलाई जस्तै ७० वर्षीय रत्नकुमारी मग्रातीलाई पनि खुसी लागेको छ । उनलाई घर नजिकै रहेको अन्य मन्दिरमा पूजा गर्न अरु मानिसको अगाडी सहज लाग्दैनथ्यो । ‘केही भन्छन् कि भन्ने डर त भईरहन्थ्यो’, उनले भनिन्, ‘अब हामी आफ्नै गुठीले बनाएको मन्दिरमा नडराई ढुक्कले पूजा गर्छौँ ।’
मैदान दलित गुठी समाजका सदस्यले दुई लाख र तीन सय खेतालाको श्रमदान जुटाएर उक्त मन्दिर निर्माण गरिएको हो । मन्दिरको उद्घाटन गर्दै गोरखा नगरपालिकाका नगरप्रमुख राजन राज पन्तले मन्दिरको संरक्षण र दलित समुदायको सशक्तिकरणमा नगरपालिकाले सघाउने बताए ।
यसअघि त्यहाँका करिब २५ घर दलित समुदायले अहिले मन्दिर निर्माण भएकोभन्दा केहीमाथि पहरामा पूजा गर्ने गर्थे । धनमाया मग्राती र सुकमान मग्रातीले मन्दिर निर्माण गर्न जग्गा दान दिएपछि आफैँले मन्दिर निर्माण गरेको गुठी समाजका सल्लाहकार बिष्णु मग्रातीले बताए । हरेक फागु पूर्णिमाको अबसरमा उक्त दुर्गा मन्दिरमा त्यहाँका स्थानीयले पूजाआजा गर्ने गर्छन ।
गुठी समाजका अध्यक्ष दलबहादुर मग्रातीको अध्यक्षता र मेयर पन्तको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा वडा अध्यक्ष रामकुमार थापा मगर, गुठीका सचिव झलक मग्राती, वुद्धिजीवि रामबहादुर मग्राती लगायतले मन्तब्य राखेका थिए ।






