| आइतवार, कार्तिक २२, २०८३

शहीद लखनका ५७७ घरधुरीमा घरघरै धारा

शहीद लखन गाउँपालिकाका विभिन्न वडाका पाँचसय ७७ घरधुरीमा घरघरै धारा निर्माण भएको छ । एफसिडीओको आर्थिक सहायता, मट म्याकडोनाल्डको व्यवस्थापन, अक्सफाम, तुलसीमेहेर युनेस्को क्लव र शहीद लखन गाउँपालिकाको साझेदारीमा सञ्चालित पुर्णिमा कार्यक्रम अन्तर्गत पाँचसय ७७ घरधुरीमा धारा जडान गरी उपभोक्तालाई हस्तान्तरण गरिएको तुलसीमेहेर युनेस्को क्लवले जनाएको छ ।

वडा नं. ३ मनकामनामा कानटार केउरेनी खानेपानी आयोजना अन्तर्गत ९२ घरधुरीमा जडान गरिएको छ । त्यस्तै वडा नं. २ बेतेनीमा बेतेनी लिफ्टिङ खानेपानी योजनामार्फत ११९ घरधुरीमा पनि धारा जोडिएको क्लवका अध्यक्ष धिरजबहादुर मास्केले जानकारी दिए ।
त्यस्तै चापखोला नागथान खानेपानी आयोजनामार्फत वडा नं. ४ ताक्लुङका १५४ घरधुरीमा, भैँसेपोल खानेपानी आयोजनामार्फत वडा नंं. ५ ताक्लुङमा २८ घरधुरीमा धारा जडान गरिएको छ ।

त्यस्तै वडा नं. ५ ताक्लुङमै खोला खानेपानी योजनामार्फत एकसय १४ घरधुरीमा, वडा नं. ६ घैरुङमा तीनघरे खानेपानी योजनामार्फत २८ घरधुरीमा र वडा नं. ९ नाम्जुङका ४२ घरमा पोखरी खानडाँडा खानेपानी योजनामार्फत धारा जडान गरिएको क्लवका अध्यक्ष मास्केले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्