
जनगणना सम्बन्धी सचेतना गोष्ठी सम्पन्न
२०७८ मा हुन लागेको जनगणनालाई सफल बनाउन अहिले बिभिन्न चरणमा छलफल तथा गोष्ठीहरु भइरहेको छ ।
१०–१० बर्षको अन्तरालमा हुने जनगणनामा देशभर ७० लाख परिवार र करिब तीन करोड मानिसको बिवरण समेटिने अनुमान सरकारको छ । जिल्लाभित्रको जनगणनालाई ब्यवस्थित बनाउन भन्दै जिल्ला जनगणना कार्यालयले बिहिवार सरोकारवाला बीच छलफल गरेको छ ।
जिल्ला जनगणना समन्वयन समितिका सदस्य एवं जिल्ला समन्वय अधिकारी नानीबाबु पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमखु अशोककुमार गुरुङ, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त लगायतले धारणा राखेका थिए ।
जनगणनामा जनसंख्याको मात्रै नभएर घरको प्रयोजन सहितको धेरै पक्ष र क्षेत्र समेटिने जिल्ला जनगणना अधिकारी महेशप्रसाद ढुङ्गानाले बताए । समुदायिक प्रश्नावली, मूख्य प्रश्नावली र घर, घर परिवारको बिवरणभित्र रहेर तथ्याङ्क लिइनेछ ।
जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति रहन्छ भने वडा अध्यक्षको संयोजकत्वमा वडा स्तरमा समन्वय समिति रहन्छ । गोरखामा जेठ २५ गतेबाट घरघरमा तथ्याङ्क लिन गणक खटिनेछन् । दुई हजार नौ सय जनाले गणक तथा सुरपरिवेक्षकका लागि आवेदन दिएका छन् ।
आवेदन दिएका मध्येबाट आवश्यक संख्यामा छनौट गरिने जनगणना अधिकारी महेशप्रसाद ढुङ्गानाले बताए । ‘गोरखाको ११ वटै पालिकाबाट दरखास्त आएको छ’ उनले भने ‘दुर्गमका पालिकामा गणना गर्न समस्या हुन्छ कि भन्ने थियो तर त्यस्तो अवस्था छैन ।’ सबैभन्दा दुर्गममा रहेको चुमनुब्री गाउँपालिकाबाट पनि गणक र परिर्वेक्षकले आवेदन दिएकाले जनगणना गर्न सहज हुने उनले बताए ।
‘मेरो जनगणना मेरो सहभागिता’ भन्ने नारासँगै जनगणना हुँदैछ । जनगणनाले निर्वाचन क्षेत्र निर्धारण, समानुपातिक प्रतिनिधित्व सुचिश्चित गर्न, निर्वाचन क्षेत्र निर्धारण गर्न, योजना तर्जुमा, सामाजिक आर्थिक अवस्थाको पहिचान गर्न मद्दत पुग्ने लक्ष्य सरकारको छ ।
बिहिवार गोरखा सदरमुकाममा भएको कार्यक्रममा बिभिन्न कार्यालयका प्रमुखहरु, स्थानीय तह, संघ संस्था लगायतको उपस्थिति रहेको थियो ।




