
दोस्रो लहरको कोरोनाको कहर : तयार छैनन् आइशोलेसन र क्वारेन्टाईन
कोभिड १९ को त्रास कम हुँदै गएपछि यसअघि बनाइएका आइशोलेसन र क्वारेन्टिन हट्दै गए । अधिकांश विद्यालयमा बनाइएको क्वारेन्टाईनमा पुनः विद्यालय संचालन हुन थाल्यो । सामुदायिक भवनमा क्वारेन्टिन संचालन गरेका स्थानीय तह अधिकांशले त्यहाँ पनि हटाए ।
कोभिड १९ को त्रास कहिल्यै नआउने गरी हटेको भैmँ स्वास्थ्य संस्थामा रहेका आइशोलेसन र क्वारेन्टिन बाहेक अन्यत्र अहिले कहीँ बाँकी छैन ।
११ वटै स्थानीय तह मिलेर गोरखा क्याम्पसमा क्वारेन्टिन सहितको आइशोलेसन निर्माण गरे । क्याम्पस सुरु भएसँगै त्यहाँ अहिले आइशोलेसन र क्वारेन्टिन छैन । क्याम्पसले यसअघि पनि पटक–पटक छिटो क्वारेन्टिन हटाउन माग गरेकाले अब पुन सहज रुपमा संचालन गर्न दिने अवस्था देखिँदैन ।
सिरानचोक गाउँपालिकाको जौवारी र नयाँ साँघुमा २० जना क्षमताको क्वरेन्टिन थियो ।
पालुङटार नगरपालिका ५ को धर्मावती प्राविमा क्वारेन्टिन संचालन भएको थियो । सामग्री हराउने डरले स्टोर गरेर राखिएको छ । चाहिएका बेला तत्काल त्यहाँ क्वारेन्टिन निर्माण गर्न सकिने नगरप्रमुख दिपकबाबु कंडेलले बताए ।
गोरखा नगरपालिका भएर जिल्ला प्रवेश गर्ने नाका मझुवा देउरालीको रबर उद्योगमा होल्डिङ सेन्टर बनाइएको थियो ।
‘अहिले विद्यालय सुरु भएपछि मनकामना बहिरा विद्यालयको क्वारेन्टिन पनि हटाइएको छ’ नगरप्रमुख राजनराज पन्तले भने ‘हामीले क्वारेन्टिनको रुपमा रबर उद्योगलाई प्रयोग गर्न सक्छौँ ।’ तत्काल प्रयोगमा ल्याउन सक्ने क्वारेन्टिन जिल्ला भर चारवटा पालिकामा ७४ वेड क्षमताको देखिन्छ । स्वास्थ्य कार्यालयले तयार पारेको तथ्याङ्क अनुसार अधिकांश पालिकाले विद्यालयमा बनाएको क्वारेन्टिन हटाएका छन् ।
यसअघि आरुघाट गाउँपालिकाले एक ठाउँमा, गण्डकी गाउँपालिकाले छ ठाउँमा, सिरानचोकले चार ठाउँमा, शहिदलखनले दुई ठाउँमा, अजिरकोटले १० ठाउँमा, चुमनुब्रीले एक ठाउँमा क्वारेन्टिन संचालन गरेका थिए ।
बारपाक सुलिकोटले १, पालुङटारले दुई, गोनपाले दुई ठाउँमा र धार्चे गाउँपालिकाले एक ठाउँमा क्वारेन्टिन संचालन गरेका थिए ।
तत्काल प्रयोग गर्न मिल्ने आइशोलेसन ५० वेड क्षमताको छ । पालुङटार नगरपालिकामा २०, आरुघाट गाउँपालिकामा १५, गण्डकी गाउँपालिकामा १०, सिरानचोकमा पाँच वेड क्षमताको आइशोलेसन छ । पालुङ्टारको आइशोलेसनबाट सबै सामग्री स्टोरमा राखिएको छ । जिल्लाभर तयारी आइशोलेसन वेड कम रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।
‘तत्काल बनाउन त सकिएला तर एकाएक संक्रमण बढ्यो भने समस्या हुन सक्छ’ उनले भने ।
सरकारले गाउँपालिकालाई संचालन गर्न निर्देशन गरेको कोभिड अस्पताल पाँचवटा पालिकाले मात्रै संचालन गरेका छन् । गण्डकी, सिरानचोक, चुमनुब्री र बारपाक सुलिकोटले कोभिड अस्पताल सुरु गरेका छैनन् । नगरपालिकामा भने अस्पताल रहेकाले छुट्टै कोभिड अस्पताल तोकिएको छैन । कोभिड उपचार हुने अस्पताल सरकारले तोकेकाले गोरखा अस्पताल र आँपपिपल अस्पतालमा पनि कोभिड उपचार अहिले हुँदैन ।
गोरखामा दुई सय ४४ जना महिला र पाँच सय पाँच जना पुरुषलाई कोरोना संक्रमण भएको थियो । जिल्लाभर १० हजार एक सय १५ जनाको नमुना संकलन गरिएको थियो ।
संक्रमित मध्ये अधिकांस २१ देखि ३० वर्ष उमेर समूहका थिए । जिल्लाभित्र संक्रमण पुष्टि भएर मृत्यू हुनेको संख्या तीन रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन अर्यालले बताए ।
केही समयअघि यो अवस्था रहेको जिल्लामा अब सुरक्षित रहन आइशोलेसन, क्वारेन्टिन तयार हुँदा सरोकारवालालाई एक्कासी ब्यवस्थापन गर्न चुनौती बढेको छ ।




