| आइतवार, कार्तिक २२, २०८३

गोरखामा क्षयरोगको औषधी सेवन गर्ने बढे

गोरखामा क्षयरोगको औषधी सेवन गर्नेको संख्या गत वर्षभन्दा बढेको छ ।

२०७६/७७ को साउनदेखि फागुन सम्म ९८ जनाले क्षयरोगको औषधी नियमित खाएका थिए भने चालु वर्षको फागुनसम्म नियमित औषधी सेवन गर्नेको संख्या एक सय सात पुगेको छ ।
क्षयरोगको औषधी गोरखाका ९४ वटा स्वास्थ्य संस्थाबाट निशुल्क बितरण हुँदै आएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख नरजंग ठकुरीले बताए ।

क्षयरोगको पहिचान सिर्दिबास, माछाखोला, खान्चोक, बुङ्कोट, भच्चेक, सिम्जुङ स्वास्थ्य चौकीमा गरिनेछ । गोरखा र आँपपिपल अस्पताल, आरुघाट, जौवारी र मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रमा पनि क्षयरोगको उपचार हुन्छ ।
गोरखा अस्पतालमा भने अहिले क्षयरोग छिटो पहिचान गर्न सकिने अत्याधुनिक मेसिन आइपुगेको छ । तीन घण्टामा उक्त मेसिनबाट क्षयरोग पत्ता लगाउन र औषधी सेवन गरेकाहरुको रोगको स्तर पहिचान गर्न सकिनेछ । यसअघि भने माईक्रोस्कोपबाट क्षयरोग भए नभएको परीक्षण गरिन्थ्यो ।
स्वास्थ्य कार्यालय गोरखाले बुधवार विश्व क्षयरोग दिवसको अवसर पारेर पत्रकारहरुसँग छलफल कार्यक्रम गरेको छ । जिल्लामा क्षयरोगको अवस्था, बिरामीको पहिचान लगायतका बारेमा छलफल भएको हो । ‘संकेत समयको, क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ दिवस मनाइएको हो । स्वास्थ्य संस्थामा उपचार गर्न गएका, संकेत देखिएको आशंका लागेमा क्षयरोग परीक्षण हुने गरेको छ ।

‘दीर्घरोगी, मधुमेह, कुपोषण र गर्भवती अवस्थामा यो रोगको संक्रमण हुन सक्छ’, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख नरजंग ठकुरीले भने । बुधवार आरुघाट गाउँपालिकाको आरुपोखरीमा क्षयरोग संम्बन्धी चेतनामुलक कार्यक्रम भएको छ ।

प्रतिक्रिया दिनुहोस्