
पूर्वाधार कार्यालयद्वारा आठ महिनामा ६२ प्रतिशत प्रगति
गण्डकी प्रदेश मातहतको पूर्वाधार विकास कार्यालय गोरखा अन्य जिल्लाका पूर्वाधार कार्यालयभन्दा अगाडि देखिएको छ ।
चालु आर्थिक वर्षको अहिलेसम्मको खर्च प्रतिशत विश्लेषण गर्दा गण्डकी प्रदेशका अन्य जिल्लाका कार्यालय भन्दा सो कार्यालयले धेरै बजेट खर्च गरेको हो ।
सोमवार पोखरामा आयोजित दोस्रो चौमासिक समीक्षा गोष्ठीमा सो कार्यालयले अन्यले भन्दा धेरै कार्यक्रम सम्पन्न र सञ्चालन गरेको निश्कर्ष निकालिएको थियो । पूर्वाधार विकास कार्यालयका प्रमुख दयाराम अधिकारीले आठ महिनामा ६२ प्रतिशत बजेट खर्च भएको बताए ।
उक्त कार्यालयमार्फत गोरखामा एक अर्ब २० करोड रुपैयाँ बजेट बिनियोजन भएको थियो । अहिले करिब ७५ करोड खर्च भईसकेको छ । ‘असार मसान्तसम्म हामीले ९५ प्रतिशत भन्दाबढि बजेट खर्च गर्न सक्छौँ’ उनले भने ।
कार्यालयले सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, भबन निर्माणको योजना अघि बढाएको छ ।
यीमध्ये सडक योजनाको प्रगति धेरै रहेको कार्यालय प्रमुख अधिकारीले बताए ।
समीक्षा कार्यक्रममा गोरखा लगायत गण्डकी प्रदेशभित्रका ११ वटै जिल्लामा रहेका प्रदेश सरकारमाताहतका कार्यालयहरुको कार्य सम्पादनको समीक्षा गरिएको थियो ।




