| आइतवार, कार्तिक २२, २०८३

सुत्केरीलाई कुखुराको भाले कोशेली

नियमित स्वास्थ्य संस्थामा गर्भवती परीक्षण गरी स्वास्थ्य संस्थामै सुत्केरी गराउने महिलालाई गोरखा नगरपालिका वडा नं. ४ को कार्यालयले कुखुराको भाले कोशेली दिन सुरु गरेको छ ।
सुरक्षित सुत्केरी गराउनेलाई प्रोत्साहन गर्न सो वडा कार्यालयले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई कोशेलीस्वरुप कुखुराको भाले दिन सुरु गरेको हो ।
वडामा रहेको बर्थिङ सेन्टरमा सुत्केरी भएका महिलालाई वडा कार्यालयले कुखुराको भाले कोसेली पठाएको वडा अध्यक्ष रामशरण अधिकारीले बताए । स्वास्थ्य चौकीमा नियमित स्वास्थ्य परिक्षण गराउने गर्भवती र बर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी गराउने महिलालाई उपहार दिने गरिएको उनले बताए ।
‘आइतबार एक औपचारिक कार्यक्रम गरेर साउनयता वडाभित्र सुत्केरी भएका १३ जना महिलालाई एउटा/एउटाका दरले भाले कोशेली दिएर पठायौँ’, वडाअध्यक्ष अधिकारीले भने । गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले सुत्केरी भएका महिलाहरुलाई कोसेली हस्तान्तरण गरेकी थिइन्् । ‘यसरी कोसेली दिँदा स्वास्थ्य संस्थामा जाँच गर्नुपर्ने रहेछ भन्ने प्रचार हुन्छ’ उपाध्यक्ष श्रेष्ठले भनिन् ‘आमा र शिशु स्वास्थ्यकर्मीको निगरानीमा हुने हुँदा थप समस्या आउन पाउँदैन ।’ स्थानीय उत्पादन पनि बिक्री हुने र मासु खानेहरुलाई लोकल कुखुराको मासु तागतिलो हुने हुँदा कार्यक्रमले स्वास्थ्य संस्थामा सुत्केरी हुने दर बढ्ने उनले बताईन् ।
आर्थिक बर्ष २०७७\७८ मा वडाभित्रका २५ जनालाई भाले दिने लक्ष्य रहेको वडाध्यक्ष अधिकारीले बताए ।

‘सुत्केरी भएका बेला पौष्टिक आहार खानुपर्छ भन्ने सन्देश दिन पनि भाले दिने निर्णय भएको हो’ वडा अध्यक्ष अधिकारीले भने । दुई वर्षअघिदेखि गोरखा नगरपालिकाले गर्भवती र सुत्केरी महिलालाई पोष्टिक आहार सहितको पोसिलो झोला दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्