
चर्चामा रहेका गोरखाका ऋषि कट्टेल को हुन् ?
शिव उप्रेती :
छोराको एउटा अठोटले मुलुकको राजनीतिमा उथलपुथल भएकोमा ९६ बर्षकी आमा इच्छावतीमा न कुनै हर्ष छ, न विस्मात । ‘सबैले मोबाइलमा हेर्छन् । मलाई पनि देखाउँछन्, यी तपाईँको छोराले मुद्दा जितेछ, सबैलाई पल्टाएछ भन्छन् । यति भएपछि अब ऋषिले के पाउँछ, पेन्सन पाउँछ ?’ इच्छावती सोध्छिन् ।
१९ बर्ष पढाएर पेन्सन पाउने बेला सरकारी जागिर छाडेर राजनीतिमा होमिएपछि उनको मनमा लागेको चोट अहिलेसम्म पुरिएको छैन । ऋषि कट्टेलले पेन्सन पाएको हेर्ने इच्छावतीको ठूलो इच्छा छ ।
दुई बर्षसम्म दुई तिहाईको सरकारको राज गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) लाई अलग्याएपछि चर्चामा छन्, ऋषि कट्टेल ।
गोरखा नगरपालिका वडा नं. ८ कट्टेलडाँडाको घरमा रहेकी आमालाई भने यो फैसलाले खासै उत्साहित बनाएको छैन । ‘नाम चलेर के पाउँछ र ? पेन्सन पाउँछ ? केही पनि पाउँदैन रहेछ । एउटा सरकारी जागिर खाएर पैसा कमाइदिए, पेन्सन पाइदिए रमाइलो हुन्थ्यो’, रेडियो, टेलिभिजनमा छोरालाई देखेर, सुनेर खुशी हुदै आमा भन्छिन्, ‘एक्कै बर्ष पख्, तेरो पेन्सन आउँछ भनेर परान परेको हामी । तर मानेन ।
जेसुकै भन्नू, राजनीति त म छोड्दै छोड्दिन, गर्दन गए नि भनेको । बाउलाई एउटा राम्रो टोपी पनि किनिदिएन । मेरो दुख त्यस्सै खेर गयो भन्नुहुन्थ्यो बाले ।’
जहिले पनि आमा राजनीतिमा नहिड्न भन्छिन्, तर ऋषि कट्टेल मान्दैनन् । ‘अचेल घरमा आउँदा पनि ठूलोबाजी हुन्छ कहिलेकहिले । बारीभरि घाँस छ, भैँसी पालेर बस् । दूध र भात खा । अब बूढो भइस्, नहिड् भन्छु । म त हिड्न सकुञ्जेल भुइँमा हिड्छु, नसके आकासमा हिड्छु, तैपनि राजनीति छोड्दिन रे, त्यसो भन्छ’, आमा गुनासो गर्छिन् ।
अदालतको फैसलापछि उनका समकक्षीहरु भने उत्साहित छन् । निष्ठावानले न्याय पाएको उनका दवलीँहरुको टिप्पणी छ । ‘अत्यन्त जुझारु, रुढिवादको कट्टर विरोधी, अन्याय, अत्याचार देखिनसहने । सत्यको पक्ष्मा एक्लै हुञ्जेल पनि लडिरहने हुनुहुन्थ्यो’, बालसखा हरि अर्याल सम्झन्छन्, ‘ज्ञानमार्ग माविको प्रधानाध्यापक, मनकामना माविको प्रधानाध्यापक र सरस्वती माविको प्रधानाध्यापक भएर काम गर्नुभयो तर उहाँमा आर्थिक लोभलालच कत्तिपनि भएन । पकेटमा सुको नभए पनि घरखर्च नभए पनि दायाँबायाँ गरेर कमाउनु पर्छ भन्ने कहिल्यै सोच्नु भएन । निष्ठामा रहिरहनु भयो ।’ सत्य र न्यायको पक्षमा बोल्नु पर्दा दुई दिनसम्म लगातार बोलिरहनु पनि तयार हुने उनले बताए ।
मनकामना माविमा कार्यरत रहँदा तत्कालीन राष्ट्रिय पञ्चायतका सांसद नारायण मल्लको बिरोध गरेबापत कट्टेलमाथि अर्राष्ट्रिय तत्वको आरोप लाग्यो । प्रहरीले बारम्बार पक्राउ गरिरहन्थ्यो । सरस्वती माविमा कार्यरत रहँदा तत्कालीन अञ्चलाधीश खड्गबहादुर जिसीले ऋषि कट्टेललाई हटाएपछि मात्र विद्यालयलाई स्वीकृति दिने अठोट गरे ।
पञ्चायत सरकारबाट उनीमाथि धेरै षडयन्त्र हुन थालेपछि तत्कालीन जिशिअ जय नारायण झाले सुरक्षित हुन सुझाव दिए । त्यसपछि जागिर छाडेर उनी पूर्णकालीन राजनीतिक कार्यकर्ता बने ।
‘२०२७ सालदेखि शिक्षण पेशामा थिएँ । अङ्ग्रेजी पढाउँथेँ । २०४६ सालमा छोडेँ’, कट्टेल भन्छन्, ‘एकबर्ष पढाएको भए पेन्सन हुन्थ्यो, तर मैले धैर्य गर्न सकिन ।’
सरस्वती क्याम्पसमा पढ्दा २०२४ सालमा अनेरास्ववियूको सदस्यता लिएका कट्टेलले २०२६ सालमा वैकुण्ठ कट्टेलको हातबाट नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए ।
त्यसताका कट्टेलडाँडामा जन्मेका जो कोही पनि कम्युनिष्ट हुनुपर्छ भन्ने मान्यता थियो । ‘कट्टेलडाँडालाई लालकिल्ला भन्थे ।
हामीलाई पनि यहाँ जन्मेको जो कोही पनि कम्युनिष्ट नै हुनुपर्छ भनेर प्रशिक्षण दिइन्थ्यो’, ऋषि कट्टेलका समकक्षी बलराम कट्टेल भन्छन्, ‘नेता पुष्पलाल आइरहनुहुन्थ्यो । यहाँका ८० घर कट्टेल त्यो बेला सबै कम्युनिष्ट थियौँ ।’
१९ बर्षको शिक्षक जीवनमा उनी नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय सदस्य समेत थिए । हेटौँडाको भुटनदेवी माविमा संगठन स्थापना हुँदादेखि सक्रिय उनी गोरखा जिल्लाको संगठनको संस्थापक नेता थिए ।
२०४६ सालको माघ महिनामा शिक्षण जागिर छाडेर काठमाडौँको जनआन्दोलनमा पुगेका उनी तत्कालीन नेकपा माक्र्सवादीका केन्द्रीय सदस्य बने । पुष्पलाल समूह र मनमोहन समूह बीच एकता भई नेकपा एमालेको बन्नुमा उनको ठूलो भूमिका रह्यो । त्यतिबेला उनी राष्ट्रिय परिषद सदस्य समेत बने ।
सो पार्टीमा पनि नयाँ जनवादी कार्यक्रम र जनताको बहुदलीय जनवाद दुई लाइन संघर्ष सुरु भएपछि उनी सीपी मैनाली नेतृत्वको नयाँ जनवादी कार्यक्रमका पक्षमा उभिए । २०४८ र २०५१ को निर्वाचनमा गोरखाबाट प्रतिनिधि सभा सदस्यमा उम्मेद्वार बनेपनि उनी दुवै पटक पराजित बने ।
२०५४ सालमा महाकाली सन्धी अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदा उनी अनुमोदन गर्नुहुन्न भन्ने पक्षमा उभिए ।
त्यसपछि वामदेव गौतम, सीपी मैनालीलगायतका नेताहरुसँग मिलेर कट्टेलले नेकपा माले गठन गरेर त्यसको पोलिटव्यूरो सदस्य, संगठन विभागका प्रमुख समेत बने । २०५६ मा वामदेव गौतमले नेकपा एमालेसँग पार्टी एकता गरेपछि कट्टेल सीपी मैनालीलगायतका नेताहरुसँग नेकपा मालेमै आवद्ध रहेर अघि बढिरहे ।
२०६१ सालको तत्कालीन राजा ज्ञानेन्द्रको ‘कू’पछि सीपी मैनाली दरबार निकट हुदै गएपछि कट्टेलले मैनालीसित लामो राजनीतिक सहयात्रा पारपाचुके गरे । उनले नेकपा (एकीकृत माले) गठन गरी अघि बढे । त्यसपछि साना कम्युनिष्ट पार्टीहरु बीच एकता गरी नेकपा एकीकृतको नेतृत्व पनि गरे ।
एकता र फुटको क्रम चलिरहँदा कट्टेलले २०६८ सालमा आफूले कम्युनिष्ट पार्टीको सदस्यता लिएकै नामको पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गरे । तर नेकपा एमाले र एमाओवादी मिलेर २०७५ सालमा निर्वाचन आयोगमा सोही नामको पार्टी गठन गरेपछि कट्टेलले सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए ।
सर्वोच्चले गतहप्ता कट्टेलकै पक्षमा मुद्धा फैसला गरेपछि अहिले उनको सर्वत्र चर्चा छ ।
‘फैसलाले कस्तो महशुस गर्नुभएको छ ?’
‘यसले नेपाली राजनीतिमा ठूलो सन्देश दिएको छ । दक्षिणपन्थी, सिर्जनवादी धारा बलियो हुदै गइरहेको अवस्थामा यो फैसलाले तितरवितर हुन बाध्य भएका छन् । अव माक्र्सवादी, लेनिनवादी र माओविचार धारालाई काम गर्न सहज हुने भएको छ ।
पश्चिमाहरुको निर्देशनमा सना पार्टीहरुमथि प्रतिवन्ध लगाएर दुई ठूला पार्टी मात्र बनाउन चाहन्थे । त्यो भत्किएको छ । यो फैसलाले कम्युनिष्टहरुको क्रान्तिकारी धारालाई सुदृढ गरेको छ । संसदीय राजनीतिमा एउटा समिकरण भत्किएको मात्रै छैन, संसदीय प्रणालीमा नै धक्का लागेको छ ।
यो फैसलाले एउटा महत्वपूर्ण सन्देश पनि दिएको छ । यदि म आफ्नो अडानमा थोरै पनि विचलित भएर मुद्दा र्फिता लिएको भए, मैले पार्टी चलाउन पुग्ने खर्च पाउँथे । तर मलाई प्रलोभनले गलाएन । यसले निष्ठाको राजनीति गरेको रहेछ भन्ने बास्तविकता आम मिडियाले थाहा पाएका छन् ।’
‘अब तपाईँको लाइन के हो त ?’
‘संसदीय प्रणाली खारेज गर्ने पक्षमा छौँ ।’
‘तर तपाईँको पार्टीको आकार सानो छ । सामथ्र्य छ त ?’
‘आकार ठूलो हुँदा के हुने रहेछ भन्ने त भर्खर देखिएको छ । म उपभोक्तावादी राजनीति अराजनीतिक छ भन्नेमा दृढ छु । अहिले कम्युनिष्ट राजनीतिमा आदर्श छाड्दै हिड्ने, जबज भन्दै संसदीय भासमा जाने, विकृत बन्ने, पदलोलुप बन्ने संस्कृति विकास भइरहेको छ । राजनीति भनेको कमाउने पेशा हो भन्ने मान्यताको विकास गरिरहेका छन् । यो प्रदुषण फ्याँक्नुपर्छ, निष्ठाको, आदर्शको राजनीति गर्नुपर्छ भन्ने तप्काको पनि उत्तिकै विकास भइरहेको छ । राजनीति भ्रष्टाचारमुक्त, कमिशनतन्त्रमुक्त बनाउन निरन्तर लागिरहेको छु, लागिरहनेछु । एकदिन अवश्य सफल भइन्छ ।’
‘साथ दिनेहरु देख्नुहुन्छ ?’
‘जब राष्ट्र संकटमा पर्छ, त्यसबेला निष्ठाको राजनीति गर्नेको खोजी हुनेरहेछ । संकट नआएसम्म खाईपिईमा रमाउनेहरु, गाउँगाउँमा ठेक्का लुट्नेहरु, स्रोत र साधनको दोहन गर्नेहरु, माफियातन्त्र चलाउनेहरु, कालोधन्दा गर्नेहरु फस्टाइरहन्छन् । तर जव संकट आउँछ तब सत्तासंग असन्तुष्ट हुनेहरुको जमात ठूलो हुन्छ । अहिले मेरो खोजी किन भएको ? मेरो पक्षमा फैसला हुनु ठूलो कुरा केही थिएन तर किन चर्चा धेरै भएको ? सत्तासँग असन्तुष्ट हुनेहरुले उकुशमुकुश पोखेका हुन् । आम जनमानस त यस्ता विकृतिप्रति असन्तुष्ट छन् नि । निष्ठाको राजनीति गर्नेले उनीहरुको साथ पाउँछ भन्नेमा म विश्वस्त छु । यसले गर्दा पार्टीको आकार १० गुना ठूलो बनाउने विश्वास छ ।’
‘तपाईको पार्टी कुन विचारधारा र सिद्धान्तले चल्छ ?’
‘माक्र्सवादी, लेनिनवादी र माओ विचारधाराले चल्छ । पुष्पलाल मेरो आधार हो, मार्गदर्शक हो । जनताको जनवादी राज्यसत्ताले मात्र परिवर्तन सम्भव छ भन्ने मेरो पार्टीको सिद्धान्त हो । विकृत बाटो अपनाएर पार्टी ठूलो बनाउने पक्षमा म छैन ।’





