
पालुङटार विमानस्थलको करिब १२ रोपनी जग्गा अतिक्रमण
दरौंदी समाचारदाता
पालुङ्टार विमानस्थलको करिब १२ रोपनी जग्गा अतिक्रमण भएको पाइएको छ । केहीदिनअघि गरिएको विमानस्थलको जग्गा नापजाँचको क्रममा १२ रोपनी क्षेत्रफल जग्गा अतिक्रमण भएको पाइएको हो ।
विमानस्थलको सबैभन्दा धेरै जग्गा सडकले अतिक्रमण गरेको हो । ‘पूर्वतर्फ, उत्तरपूर्वतर्फ, उत्तरतर्फ र पश्चिमतर्फ सडक निर्माणको क्रममा विमानस्थलको जग्गा अतिक्रमण भएको पाइयो’, नापी कार्यालय गोरखाका अमिन विवेकभुषण दाहालले भने, ‘दक्षिणतर्फ टावरभन्दा तलचाहिँ एयरपोर्टको जग्गामा दुईतीनवटा नयाँ घरहरु बनेका छन् ।’ एयरपोर्टको वरिपरि बनेका कालोपत्रे सडक सबै नै एअरपोर्टको जग्गामा बनेको उनले बताए ।
सबैभन्दा धेरै अतिक्रमण ‘तल्लो साइडमा एयरपोर्टको जग्गामा रोड पिच भएको छ । रोडभन्दा बाहिर पनि एयरपोर्टकै जग्गा रहेको छ’, अमिन दाहालले भने, ‘सडकले चर्चेको र सडकभन्दा बाहिरसम्म पनि रहेको गरेर करिब आठ रोपनी जग्गा अतिक्रमण भएको देखियो । घर तथा खेत बारीले करिब चार रोपनी जग्गा अतिक्रमण भएको देखियो ।’ व्यक्तिगत घर र खेतबारी एयरपोर्टको जग्गामा परेको देखिए पनि नक्शा नै गल्ती पनि हुनसक्ने उनले बताए । ‘व्यक्तिबाटचाहिँ अतिक्रमण होइन । नापी आउनुभन्दा अघिदेखि नै भोग चलन गरेको बुझियो’, उनले भने, ‘नक्शा गल्ती निस्केको हुनसक्छ । सच्याउनु पर्छ ।’
नागरिक उड्यन प्राधिकरणले विमानस्थलमा धावन मार्ग बनाउनुअघि आफ्नो जग्गा नापजाँच गरेको हो । विशाल घले नेतृत्वको तीन जना अमिन र अरु सहयोगीले दुई दिन लगाएर विमानस्थल नापी गरेका हुन् ।
पालुङ्टार नगरपालिकाकी उपमेयर पम्फा बसेलले सडक र व्यक्तिगत घर तथा खेतबारीले विमानस्थलको जग्गा अतिक्रमण भएको जानकारी पाएको बताईन । नगरपालिकामा स्थानीय सरकार गठन हुनुअघि नै एयरपोर्ट अतिक्रमण भएको भन्दै उनले सो समस्याको समाधान नागरिक उड्यन प्राधिकरणले खोज्नु पर्ने तर्क गरिन् ।




