| आइतवार, कार्तिक २२, २०८३

माछाखोलामा दशैअघि ४.५ मेगावाट विद्युत उत्पादनको तयारी

गोरखाको धार्चे ४ मा निर्माणाधीन अपर माछाखोला जलविद्युत आयोजनाको ३५ प्रतिशत काम सम्पन्न भएको छ । आउँदो दशैभित्रै विद्युत उत्पादन गरी परीक्षण प्रशारण गर्ने लक्ष्य रहेको प्रवद्र्धक विकास हाइड्रोपावर कम्पनीले जनाएको छ ।

४.५५ मेगावाट विद्युत उत्पादन गर्ने गरी विकास हाइड्रोपावर कम्पनीले जेरबुखोलामा निर्माण गरिरहेको जलविद्युतको काम तीब्रगतिमा अघि बढिरहेको प्रवद्र्धकमध्यका एक सरोज धितालले जानकारी दिए । ‘पावरहाउस निर्माणको काम, हेडवर्क्स र पाईप एलाईमेन्ट स्काभेसनको काम एकैसाथ अघि बढिरहेको छ’, उनले भने, ‘स्थानीयको सहयोग र वैंकबाट ऋण प्राप्त भएपछि २०७८ सालभित्र नै काम सकेर नमुना प्रोजेक्ट बनाउनेछौं ।’

कूल ८१ करोड ६५ लाख रुपैयाँमा बन्ने लक्ष्य राखिएको अपर माछाखोला जलविद्युत आयोजनाका लागि राष्ट्रिय वाणिज्य वैँकसँग वित्तीय व्यवस्थापनका लागि सम्झौता भइसकेको छ । बैंकले सो आयोजनामा ४९ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । सम्झौतापत्रमा विकास हाइड्रोपावर कम्पनीका अध्यक्ष खगेन्द्र न्यौपाने र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले माथिल्लो माछाखोला जलविद्युत् आयोजनामा जोखिम नदेखिएकाले लगानी गरेको बताए । आयोजना समयमै निर्माण हुनेमा आशावादी रहेको उनले बताए । वाणिज्य वैँकको लगानी कुल लगानीको ६० प्रतिशत हो । बाँकी ४० प्रतिशत लगानी स्वदेशी तथा विदेशमा रहेका नेपालीले संयुक्त रुपमा गर्नेछन् ।
आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले खरिद गर्ने गरी विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको छ । सो आयोजनाबाट उत्पादित विद्युत धादिङको बसेरी सबस्टेशनमा लगेर जोड्ने प्रवर्धक धितालले बताए ।

जेर्बुखोलामा बाँध बाँधेर १८०० मिटर नहरबाट रेसीफाँटमा पावरहाउस बनाइने छ । अहिलेसम्म नहरका लागि पेनस्टक पाइप र हेड्रेस पाइप ढुवानी भइसकेको आयोजनाले जनाएको छ । ‘पाइप निर्माणस्थलमा पुगिसकेको छ । पावरहाउस बनाउने काम पनि सुरु भएको छ’, प्रवद्र्धक धितालले भने, ‘चैतभरिमा बाँध बाँध्ने काम ५० प्रतिशत भएको चैतमा सक्ने । पाइप बिछ्याउने काम वैशाखसम्म ७० प्रतिशत सक्छौँ । आउँदो दशैभित्रमा विद्युत उत्पादन गरी परीक्षण प्रशारण गर्नेछौँ ।’ २०८० सालको असारसम्म निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि निर्धारित समयभन्दा अगावै कार्यसम्पन्न गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्