
मानवसेवा आश्रमलाई बारपाकका नरेश घलेले मासिक ३० हजार दिने
गोरखाको बारपाक घर भई हाल लण्डनमा बस्दै आएका नरेश घलेले मानव सेवा आश्रम गोरखालाई मासिक ३० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् ।
गोरखा नगरपालिका ५ को मैदानडाँडामा समेत बस्दै आएका घलेले आश्रममा रहेका बालवालिकाको पठन पाठनमा सहयोग गर्ने उद्देश्यले मासिक ३० हजार रुपैयाँ दिने घोषणा गरेका आश्रमकी मुना लामाले जानकारी दिईन् ।
फागुन महिनादेखि घलेले उक्त रकम उपलब्ध गराउन सुरु गरेको लामाले बताईन् ।
आश्रममा अहिले ४१ जना बालवालिका बस्दै आएका छन् ।
उनीहरुको खानपान र पठनपाठनको प्रवन्ध आश्रमले नै गर्दै आएको छ । परिवार बिहिन भएका, आफन्तको हेरचाह नपाएका बालवालिका मानव सेवा आश्रममा आश्रय लिएर बस्दै आएका छन् । गोरखा नगरपालिकाको सहयोगमा अहिले आश्रमले आफ्नै भबन निर्माण गर्न लागेको छ ।
गोरखा नगरपालिका ६ स्थित पाटेचौरमा भाडाको घरमा रहेको आश्रमलाई बिभिन्न संघ संस्था, ब्यक्तिहरुले सहयोग गरेर संचालन गरिरहेका छन् ।




