| आइतवार, कार्तिक २२, २०८३

विनाशपछि लोभलाग्दो विकास

भूकम्पक बारे विश्लेषण गर्नेहरु तर्क गर्छन्(भूकम्प स्वयंले जनधनको क्षति गर्दैन । जनधनको क्षति गर्छ त कच्ची संरचनाले ।
गोरखा भूकम्पका कारण पनि धेरै जनधनको क्षति भयो । बारपाक केन्द्रविन्दू भएर २०७२ साल बैशाख १२ गते गएको सो भूकम्प गोरखाबासीलाई मुटुको किलो झैँ छ बर्षदेखि बिझाइरहेको छ । त्यसका कारण चारसय ७२ जनाको मृत्यू भयो । एकहजार ३४ जना घाइते बने । १२ जना अझै बेपत्ता छन् ।
भूकम्पले यहाँका ६७ हजार ७८ घरधुरी पूर्ण रुपमा नष्ट भए । पाँचहजार सातसय ४४ घर आंशिक क्षति भए । पाँचसय ३२ घरधुरीका बासिन्दा विस्थापित भए ।
विद्यालयका तीनहजार ६२ कक्षाकोठा पूर्ण रुपमा नष्ट भए । ७७ वटा स्वास्थ्य चौकी, नौवटा सरकारी भवन पूर्ण रुपमा नष्ट भए । कैयौँ नहर कुलो, कैयौँ खानेपानी योजना, सडकहरु क्षतिग्रस्त भए ।
यो अप्रिय घटना गोरखाली जनको मनमनमा ताजा छ । तर भूकम्पपछि भएको विकास पनि यहाँका बासिन्दाका लागि बिर्सिनसक्नु छ । भूकम्पपछि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको भूकम्पीय आपत कालीन सहायता परियोजन (इइएपी)ले गोरखाबासीलाई ५७ किलोमिट कालोपत्रे सडक उपाहार दिएको छ ।
साथै भूकम्पपछि जिल्लामा काम गर्न आएको जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)ले गोरखा बारपाक सडकको पाँच ठाउँमा पक्की पुल निर्माण गरेको छ । करिब ४० करोड रुपैयाँको लागतमा सो सडकको खहरे खोलामा, झ्याल्ला खोलामा, बालुवाखोलामा, राङ्रुङखोलामा र दरौंदी खोलामा पक्की पुल निर्माण भएको हो ।
बीसौँ, तीसौं बर्षअघि निर्माण भएर जोखिम अबस्थामा रहेका सडकहरु ढिलो, चाँडो कालोपत्रे हुन्थे, पक्की पुल पनि निर्माण हुन्थे, तर सरकारले भूकम्पको दुखाइ बिर्साउन एक अर्ब ५६ करोडको लागतमा यी सडक कालोपत्रे र पक्की पुल निर्माण गरेको आयोजनाको कार्यालयको तर्क छ ।
क्षेत्र नं. २ को पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र अजीरकोट गाउँपालिकाका बासिन्दालाई ४७ किलोमिटर कालोपत्रे सडक उपाहार दिएको हो ।

पालुङटारको लुइँटेलदेखि अजीरकोटको सिरानडाँडासम्मको सो सडक अहिले कालोपत्रे भएको छ ।
त्यस्तै घ्याम्पेशाल, ताकुकोट, स्वाँरा, सौरपानी, बारपाक सडकको चार किलोमिटर सडक पनि सोही परियोजना अन्तर्गत कालोपत्रे भएको छ ।
लुईटेलदेखि चित्रेपोखरीसम्मको १८.५२२ किलोमिटर सडक रु ३५ करोड २१ लाख ७२ हजार ७२७ रुपैयाँ लागतमा कालोपत्रे भएको हो । सोही सडकको चित्रेपोखरीदेखि भच्चेकसम्मको १२.९७५ किलोमिटर रु २९ करोड नौ लाख ५७ हजार २६४ रुपैयाँमा कालोपत्रे भएको र १३.८६० किलोमिटर सडक २५४२५४५६६ रुपैयाँको लागतमा कालोपत्रे भएको इइएपीले जनाएको छ ।
त्यस्तै घ्याम्पेसाल, ताकुकोट, स्वाँरा, सौरपानी, बारपाक सडकको ८.२ किलोमिटरमध्य ४.७ किलोमिटर कालोपत्रे गरिएको र बाँकी सडक स्तरोन्नति गरिएको इइएपीका प्रमुख रामशरण आचार्यले जनाए । चैत लागेदेखि नै गाडी नचल्ने सडक कालोपत्रे भएपछि ती सडक आसपासका बासिन्दामा खुशी छाएको छ ।

‘दुईबर्षअघि सम्म चैत महिनादेखि भच्चेकमा गाडी अबरुद्ध हुन्थ्यो । बस चल्न छोडेपछि बाह्रकिलोदेखि भच्चेक सम्म एकहजार रुपैयाँ तिरेर जीप चढ्नु पथ्र्यो’, अजीरकोट गाउँपालिका ३ का वडा अध्यक्ष तयराज गुरुङ भन्छन्, ‘तर एकबर्षअघि यहाँको ४७.२ किलोमिटर सडक कालोपत्रे भयो । अब डेढसय रुपियाँ भाडा तिरेर बाह्रै महिना पिच रोडमा सरर गाडी चल्ने भयो ।’ सो सहायता परियोजनाले पालुङटारदेखि भच्चेकबजार, नम्की र सिरानडाँडासम्म सडक कालोपत्रे गरिसकेको उनले बताए ।
अँबुवादेखि भच्चेकसम्मको ५२ किलोमिटर सडक निर्माणको काम २०५६ सालदेखि सुरु भएको भएको थियो । २० बर्षसम्म कच्ची सडकको सास्तीपछि गोरखा क्षेत्र नं २ का बासिन्दाले अहिले कालोपत्रे सडकमा गाडी चड्न पाएका वडाअध्यक्ष तयराज गुरुङ बताउँछन् । ‘गाउँमा पिच सडक आएपछि सिरानचोक र अजीरकोट गाउँ पालिकाका बासिन्दा खुशी छन् । गाउँपालिकाले पनि बिभिन्न कार्यक्रम तय गरेको छ’, वडा अध्यक्ष गुरुङले भने, ‘सिरानडाँडामा हाइअल्टिच्यूड रंगशाला निर्माणको काम सुरु भइसकेको छ ।

नम्कीमा होमस्टे सञ्चालन भएको छ । अब यहाँ जैविक खेती गरी एग्रो टुरिज्मको विकास गर्ने कार्यक्रम बनाएका छौं ।’ सडक कालोपत्रे भएपछि यहाँ अत्याधिक उत्पादन हुने अलैंची तथा अन्य जडिबुटीले बजार पाउने भन्दै किसानहरु खुशी भएको उनले बताए । सडक कालोपत्रे भएपछि सिरानचोक गाउँपालिका र अजीरकोट गाउँपालिकाका बासिन्दा खुशी भएका सिरानचोक १ का उत्तम गुरुङको भनाइ छ । ‘बर्खा लागेपछि गाउँमा गाडी आउँदैनथ्यो । गाडी भेट्न कहाँकहाँ पुग्नुपथ्र्यो’, उनले भने, ‘अहिले त घरघरमा गाडी कुदेको छ । बिरामी भए भने पनि तत्काल सहरको अस्पतालसम्म पुग्न सजिलो हुने भयो । हुनसम्म रमाइलो भएको छ ।’
लुइँटेल भञ्ज्याङदेखि तार्केडाँडा सम्म पहिलो प्याकेजको १८.५ किलोमिटर सडक लामा अमर जेभी कन्स्ट्रक्शनले र दोस्रो प्याकेज अन्तर्गत तार्केडाँडादेखि नयाँगाउँ सम्मको १३ किलोमिटर सडक लामा कन्स्ट्रक्शनले निर्माण सम्पन्न गरेका हुन् ।

एशियाली विकास वैंकको ७० करोड रुपैंया सहयोग र स्वीस सरकारको प्राविधिक सहयोगमा सो सडक कालोपत्रे गरिएको हो । गाउँको सडक कालोपत्रे भएपछि सस्तोमा दैनिक उपभोग्य सामग्री पाउने भन्दै स्थानीय खुशी भएका छन् । ‘बर्खामा गाडी आउँदैनथ्यो । बर्खाका लागि चाहिने सामान हिउँदमै जोहो गर्नुपथ्यो’, केराबारीका सेवाराज गुरुङले भने, ‘अब ती दिन गए । चाहिएको सामान, सस्तो भाडामा बाह्रै महिना पाइने भयो ।’
विकास नियमित प्रक्रिया भएपनि भूकम्पका कारण छिटो विकास पाएको जिल्ला आयोजना कार्यान्वयन इकाइ(अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का प्रमुख रामशरण आचार्यले बताए ।
‘ढिलो छिटो सो सडक कालोपत्रे त हुन्थ्यो, तर भूकम्पले गर्दा चाँडो भएको हो’, प्रमुख इञ्जिनियर आचार्यले भने, ‘गाउँका भूकम्प पीडितको चोटमा मल्हम लगाउने काम भएको छ ।’

प्रतिक्रिया दिनुहोस्