| आइतवार, कार्तिक २२, २०८३

गोरखामा सवारी चालकलाई सडकमै प्रशिक्षण

सवारी दुर्घटनाको दर बढेपछि गोरखामा सवारी चालकलाई सडकमै प्रशिक्षण सुरु गरिएको छ । सोमवार एक कार्यक्रमका बिच सवारी चलाईरहेकाहरुलाई बिच सडकमा रोकेर सवारी नियमको बारेमा जानकारी गराइएको ट्राफिक प्रमुख मित्रलाल ढकालले बताए । उक्त अभियान फागुन ६ गतेसम्म निरन्तर चलिरहनेछ । अभियानका क्रममा जिल्लाका बिभिन्न ठाउँमा ट्राफिक प्रहरी र नेपाल प्रहरीले चालकलाई सवारी नियमबारे जानकारी गराउनेछन् ।


गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयको ‘दुई पाङ्ग्रे सवारी साधनलाई सप्ताहब्यापी सडक प्रशिक्षण’ कार्यक्रम अन्तर्गत सडकमै प्रशिक्षण दिइएको हो । जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रको आयोजनामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले यात्रुलाई हेल्मेट लगाइदिएर अभियानको सुरुवात गरेका थिए । सवारी चालक, यात्रु सबैले आफ्नो दायित्व पुरा नगर्दा दुर्घटनाको जोखिम हुने भएकाले सवारी नियम पालना गरेर यात्रा गर्न प्रजिअ भट्टराईले सुझाब दिए ।


कार्यक्रममा गोरखाका प्रहरी प्रमुख सुरेन्द्र गुरुङ, गण्डकी प्रदेस ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकाल, उद्योग बाणिज्य संघका अध्यक्ष जिबनज्योती श्रेष्ठ, पृथ्वी राजमार्ग कम्पनी प्रालीका बिपिनचन्द्र ढकाल, गोरखा मनकामना ट्याक्सी प्रालीका अध्यक्ष जिबन खड्का, सामुदायिक सेवा केन्द्रका अध्यक्ष कैलाशबाबु श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्