| सोमवार, कार्तिक २३, २०८३

जब सांसदले आफूले लगाइरहेको जाकेट फुकालेर एक वृद्धलाई लगाइदिए

अजीरकोट गाउँपालिका २ को दुर्गम खिम्पु गाउँमा सोनाम ल्होसार कार्यक्रम धुमधाम चलिरहेको थियो । शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम भइरहेको थियो ।


प्रमुख अतिथि थिए गोरखाबाट निर्वाचित गण्डकी प्रदेश सभाका सांसद प्रकाशचन्द्र दवाडी ।
कार्यक्रम चलिरहेका बेला सांसद दवाडी अचानक मञ्चबाट उठेर दर्शकदिर्घातिर गए । सहभागीहरुको लाममा पुगेर आफूले लगाइरहेको जाकेट फुकालेर एक वृद्धलाई लगाइदिए ।
वृद्ध थिए, स्थानीय १०५ बर्षका कालु गुरुङ ।


‘अरुको सामान लियो भने बोझ लाग्छ’ भन्दै सुरुमा त उनले इन्कार गरेका थिए तर सांसदले आफू छोरो जस्तै भएको भन्दै छोराले दिएको बाउले लगाउन केही फरक पर्दैन भनेर विश्वास दिलाएपछि वृद्ध लगाउन तयार भए ।

सभामा सांसदबाट पाएको सम्मानले वृद्धको मन पग्लियो र आँखाबाट आँशु बनेर झ¥यो ।


‘वृद्ध बुबाको अबस्था बुझ्दा उहाँको बिहे पनि नभएकाले सन्तान पनि रहेनछन् । आफन्तले लालनपालन गरिरहेको भन्ने चाल पाएँ । कार्यक्रममा किन आउनु भएको भनेर सोध्दा गाउँमा नेता आएका, केही नयाँ कुरा सुन्न पाइन्छ कि भनेर आएको भन्नुभयो । यो उमेरमा पनि मप्रति उहाँको आस्था पाएर भाव विह्वल भएँ । उहाँलाई दिने कुरा केही थिएन । उहाँले लगाइरहेको लुगा यो जाडो थाम्ने खालको थिएन । अनि आफ्नै जाकेट थिएँ’, सांसद दवाडीले भने, ‘उहाँलाई दिलदेखि सहयोग गर्न पाउँदा आफूलाई हलुङ्गो भएको महशुस गरेको छु ।’


घर र बसोबास काठमाडौंमा र कार्यक्षेत्र पोखरा भए पनि आफू सँधै मतदाताकै माझमा रहेको उनको भनाइ छ । ‘म त सधैं गाउँघरतिर नै हुन्छु । वडाध्यक्षजस्तै भएको छु’, उनले भने ‘चुनाव जितेपछि नेताहरु गाउँ नै फर्किदैनन् भन्ने आरोप प्रसस्त सुनेको छु । मलाई त्यस्तो आरोप नलागोस् भनेर गाउँमा नियमित आइरहन्छु’, उनले भने ।

सांसद दवाडीले सरकारले आफूलाई दिने तलव भत्ता लगायतका सेवासुविधा आफ्नै निर्वाचन क्षेत्रमा समाजसेवामा दिने गरेका छन् । पहिलो वर्ष सरकारबाट पाएको तलबभत्तामा त्यति नै थप गरी १२ लाख रुपैयाँ, दोस्रो वर्ष १० लाख रुपैयाँ सामाजिक काममा लगाएका उनले २०७६ पुसदेखि २०७७ पुससम्म नौ लाख रुपैयाँ विभिन्न संघ संस्था तथा व्यक्तिलाई सहयोग गरेको जानकारी दिएका छन् ।


‘कोही बिरामी हुँदा अस्पताल पुगेर सहयोग गरेको छु । कतै सडक, बाटो नहुँदा डोजर लिएर गाउँ पुगेको छु, कुनै क्लब र आमा समूहलाई गाह्रो पर्दा नपुगेको ठाउँ छैन, स्कुलका बाबुनानीको किताब र कापीका पानादेखि किसानको खेतबारीसम्म मेरो सामथ्र्यले भेटेसम्म सघाएको छु’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्