| आइतवार, कार्तिक २२, २०८३

चुमनुब्रीमा ७६ जनाले कोरोना बिरुद्धको खोप लगाए

गोरखाको तिब्बतसँग सिमाना जोडिएको चमुनुब्री गाउँपालिकामा हेलिकप्टरबाट लगिएको कोरोना बिरुद्धको खोप ७६ जनाले लगाएका छन् ।

तीनवटा खोप केन्द्र रहेको चुमनुब्रीको वडा नम्बर २ लिहीमा २५ जना महिला र ७ पुरुष गरी ३२ जनाले खोप लगाएका हुन् । वडा नम्बर ६ को चुम्लिङमा १२ जना पुरुष र १७ जना महिला गरी २९ जनाले खोप लगाए भने वडा नम्बर ३ सिर्दिबासमा १२ जना महिला र तीन जना पुरुषले खोप लगाएका स्वास्थ्य कार्यालय गोरखाका खोप अधिकृत ऋषिराम खत्रीले बताए ।
सडक सञ्जालले नजोडिएका ती ठाउँमा हेलिकप्टरबाट खोप सहित डाक्टर पठाइएको थियो । स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम शेविका र सरसफाईकर्मीलाई खोप लगाइएको हो ।
यस्तै माछाखोलामा १७ जना महिला र एक पुरुष गरी १८ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् । पहिलो चरणमा गोरखामा प्राप्त भएको दुई हजार १० डोज खोप मध्ये एक हजार पाँच सय ५९ डोज खोप मात्र लगाइएको छ ।

दोस्रो चरणमा खोप लगाउनेहरुको तथ्याङ्क संकलन सुरु भएको स्वास्थ्य कार्यालयका ऋषिराम खत्रीले बताए । ‘हामीलाई दोस्रो चरणको खोप लगाउने पनि निर्देशन आएको छ’ उनले भने ‘प्रशासन, प्रहरी, सशस्त्र, मालपोत, नापी, कृषि, भेटनरी, बैंक लगायत जनतासँग प्रत्यक्ष सेवा प्रवाह गर्ने कार्यालयका कर्मचारीलाई खोप लगाउने योजना छ ।’

प्रतिक्रिया दिनुहोस्