
उहियाँ र दुङला गाउँ सडक सञ्जालले जोडियो
धार्चे गाउँपालिकाको सबैभन्दा दुर्गम उहिया र दुङ्ला गाउँ सडक सञ्जालले जोडिएको छ । गतबर्ष र यो बर्षको बजेटले दोभानबाट पाँच किलोमिटर सडक निर्माण गरेर उहिया र थप चार किलोमिटर सडक निर्माण गरेर दुङ्लासम्म ट्रयाक पु¥याएको धार्चे ३ का वडाअध्यक्ष इन्द्रप्रसाद गुरुङले जानकारी दिए ।
‘नेपाली सेनाले निर्माण गरिरहेको बेनिघाट, आरुघाट, लार्के सडकको दोभान खण्डको खोन्द्राङबाट सडक खनेर उहिया र त्यहाँभन्दा पर दुङ्ला गाउँ जोड्ने काम सम्पन्न भयो’, उनले भने, ‘यो हामी उहिया र दुङ्लाबासीका लागि असाध्यै खुशीको खबर हो । यसका लागि गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा कार्यपालिका सदस्यहरु र सांसदज्यूलाई गाउँलेको तर्फबाट धेरैधेरै धन्यवाद दिन चाहन्छौँ ।’
सो सडक निर्माणका लागि धार्चे गाउँ कार्यपालिकाले गत आर्थिकबर्ष २०७६/०७७ मा एक करोड रुपैयाँ बिनियोजन गरेको थियो । फेरि चालु आर्थिकबर्ष वडा कार्यालयले २० लाख रुपैयाँ बिनियोजन गरिएको थियो । त्यस्तै उहियाबाट दुङ्ला जोड्न पालिकाले १७ लाख ५० हजार र सांसद कोषबाट १० लाख रुपैयाँ बिनियोजन भएको थियो ।
सडक निर्माण भएपछि गाउँलेहरु दुईघण्टा उकालो बाटो पैदल हिड्नुपर्ने बाध्यताबाट मुक्त हुने भएका छन् । ‘उहियाँ गाउँ पुग्न तातोपानीबाट कस्सिएर दुईघण्टा ठाडो उकालो बाटो हिड्नु पथ्र्यो । अब गाडी चढेर आउन जान सकिने भयो’, वडाअध्यक्ष गुरुङले भने, ‘माछाखोलाबाट दैनिक उपभोग्य सामान बोकेर गाउँमा पु¥याउँदा प्रतिकिलो २५ रुपैयाँ तिर्नुपथ्र्यो ।
अब पाँच रुपैयाँमा गाउँमा पुग्ने भयो । गाउँमा उत्पादिन बस्तु सहरबजारसम्म लैजान पनि सजिलो हुने भयो ।’
तातोपानीको झोलुङ्गेपुल खण्डमा नेपाली सेनाले ट्रयाक खोलेको छैन । सो ठाउँमा ट्रयाक खोलेपछि उहिया र दुङ्लामा गाडी जाने वडाअध्यक्ष गुरुङले बताए । ‘अहिले त तातोपानीबाट दोभानसम्मको ट्रयाक खुलेको छैन । त्यहाँ गाडी चलेपछि गाउँसम्म ट्याक्टर, जीप, फोरह्वील चल्छ’ उनले भने ।




