
बारपाक सुलीकोटको आठौँ गाउँसभा तथा हिउँदे अधिवेशन, छ महिनामा ३१.३२ प्रतिशत प्रगति
बारपाक सुलीकोट गाउँपालिकाले चालु आर्थिक बर्षको छ महिनामा ३१.३२ प्रतिशत प्रगति गरेको छ । मंगलबारदेखि सुरु भएको आठौँ गाउँसभा तथा हिउँदे अधिवेशनमा गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले अध्यक्षको प्रतिवेदन पेश गर्दै गाउँपालिकाको प्रगतिको बारेमा जानकारी गराएका हुन् ।
उनकाअनुसार गाउँपालिकाको कुल ६० करोड रुपैयाँ बजेटमध्य साउनदेखि पुस मसान्तसम्म चालुतर्फ ३३.८६ प्रतिशत र पुजीगततर्फ २७.१७ प्रतिशत गरी कुल ३१.२३ प्रतिशत खर्च गरेको छ ।
गाउँ परिषदको पहिलो दिन मंगलबार गाउँपालिकाले सम्पादन गरेका कार्यक्रमहरुको अर्धवार्षिक समीक्षा गरिएको थियो । सो अवसरमा अध्यक्ष भट्टले अध्यक्षको प्रतिवेदन, उपाध्यक्ष सनमाया गुरुङले उपाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यस्तै नेपाली काङ्ग्रेसका निर्मल धिताल, नेकपाका गाउँपालिका अध्यक्ष नरबहादुर गुरुङ, नेकपाकी प्रदेश कमिटी सदस्य भगवती तिवारी, जिल्ला समन्वय समितिकी सदस्य उजेली राना मगर लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।




