| आइतवार, कार्तिक २२, २०८३

पालुङटार, सिरानचोक र शहीदलखनले बनाए स्थानीय पाठ्यक्रम

गोरखाका एक नगरपालिका र दुईवटा गाउँ पालिकाले स्थानीय स्तरको पाठ्यक्रम निर्माण गरेका छन् । पालुङ्टार नगरपालिका, सिरानचोक गाउँपालिका र शहीद लखन गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार गरेका हुन् ।
आफ्नो पालिकाभित्र रहेका महत्वपूर्ण स्थल, व्यक्तित्व, धार्मिक, ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक सम्पदा, आर्थिक, सामाजिक अबस्थाको बारेमा बालबालिकालाई जानकारी गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण गरेको पालिकाहरुले जनाएका छन् ।
स्थानीय स्तरका महत्वपूर्ण सम्पदाहरुको बारेमा राष्ट्रिय स्तरका पाठ्यक्रमले स्थान नदिएको हुँदा स्थानीय पाठ्यक्रम बनाइएको पालिका प्रमुखहरु बताउँछन् ।
पालुङ्टार नगरपालिकाले कक्षा १ देखि कक्षा ८ सम्मको पाठ्यक्रम तयार गरिसकेको छ । कक्षा १ र कक्षा ६ को पाठ्यपुस्तक समेत निर्माण गरेको शिक्षा शाखाका प्रमुख बाबुराम काराखेतीले जानकारी दिए । ‘गतबर्षको मङ्सीरबाट पाठ्यक्रम निर्माण कार्य सुरु गरेका हौँ ।

गत असारमा सम्पन्न भयो’, उनले भने, ‘कक्षा १ र कक्षा ६ को पाठ्यपुस्तक समेत निर्माण भएको छ । यो शैक्षिक सत्र अब सकिन लाग्यो । शैक्षिकसत्र २०७८ बाट स्थानीय पाठ्यक्रम पढाउन सुरु गर्छौँ ।’
स्थानीय पाठ्यक्रमम वर्तमान नेपाल निर्माणको जग लिगलिगकोटको इतिहास, पालिकाभित्रका धार्मिक तथा पर्यटकीय स्थलहरु, सांस्कृतिक सम्पदा, आर्थिक गतिविधि, सामाजिक रीतिरिवाज, स्थानीय उत्पादन, राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त व्यक्तित्व, जडिबुटी, खोलानालाहरु समेटिएका पालुङ्टार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले जानकारी दिए ।
सिरानचोक गाउँपालिकाले पनि पाठ्यक्रम तयार गरिसकेको छ ।

अब हुने गाउँ कार्यपालिकाको बैठकले पाठ्यक्रम अनुमोदन गर्ने शिक्षा शाखाका ज्ञानेन्द्र पोखरेलले जानकारी दिए । ‘कक्षा १ देखि कक्षा ५ सम्मको पाठ्यक्रम तयार भइसकेको छ । अब हुने कार्यपालिकाको बैठकमा यसको अनुमोदन हुनेछ’, पोखरेलले भने, ‘यही शैक्षिक सत्रदेखि कक्षा १ देखि कक्षा ३ सम्मको पाठ्यक्रम लागु गर्ने बारे छलफल भएको छ ।’ पाठ्यक्रममा सिरानचोकगढी, राष्ट्रिय विभूति अमरसिँह थापा, झागल गुरुङ, श्रीनाथ मण्डली लगायतका धार्मिक, ऐतिहासिक, सांस्कृतिक सम्पदाहरुको बारेमा समेटिएको उनले बताए ।
त्यस्तै शहीद लखन गाउँपालिकाले पनि कक्षा १ देखि कक्षा ३ सम्मको पाठ्यक्रम तयार गरेको छ । प्रथम शहीद लखन थापा, प्रसिद्ध धार्मिक स्थल मनकामना तथा बक्रेश्वर मन्दिरलगायत धार्मिक, साँस्कृतिक, ऐतिहासिक, सामाजिक महत्वका विषय पाठ्यक्रममा समेटिएको शिक्षा शाखाका मोहनराज बिष्टले जानकारी दिए ।
‘पाठ्यक्रम बनेको छ, अब आउँदो बिहिबार बस्ने कार्यपालिका बैठकले यसलाई अनुमोदन गरेपछि पठनपाठन सुरु गर्छौँ’, विष्टले भने, ‘यो शैक्षिक सत्रदेखि कक्षा १ मा स्थानीय पाठ्यक्रम पढाइ हुन्छ । अरु कक्षालाई अर्काे बर्षहरुमा क्रमश पढाइ गर्दै जान्छौँ ।’ पाठ्यपुस्तक नभए पनि स्थानीय बिषय पढाउने शिक्षकहरुलाई अभिमुखीकरण गरेर पढाउन लगाउने योजना रहेको विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्