
तिब्बत सँग जोडिएको गोरखाका नाका खोल्न अझै समय लाग्छ : पूर्वाधार मन्त्री बस्नेत
गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले तिब्बत सँग जोडिएको उत्तरी गोरखाको रुईला नाका खोल्ने प्रक्रिया अघि बढिरहेको बताएका छन् ।
अहिले प्रधानमन्त्री कार्यालयबाट परराष्ट्र मन्त्रालयमा पत्र पुगेको र परराष्ट्रले तिब्बत सरकारलाई पत्र पठाएपछि मात्रै नाका खोलिने उनले बताए । ‘एकै वर्षमा नाका खोल्छौँ भनेका थियौँ, तर यो प्रक्रिया लामो रहेछ, हामीले मात्र चाहेर नहुने भएकाले तेस्रो वर्ष सम्म लाग्यो’ मन्त्री बस्नेतले भने ।
संघिय सरकारबाट हस्तान्तरण भएका योजना कार्यन्वयनमा चुनौती भएको बताएका छन् । सडक, मोटरेबल पक्की पुल लगायत प्रदेश संरचना हुनु अघि संघिय सरकार मातहतका कार्यालयले संचालन गरेको अधुरा योजना पुरा हुन नसकेको उनले बताए ।
‘गोरखामा पनि संघिय सरकारबाट हामीलाई हस्तान्तरण भएका तीनवटा पुलको निर्माण ढिलो भएको छ’ आईतवार गोरखामा आयोजित पत्रकार भेटघाटमा उनले भने ‘यो समस्या गण्डकी प्रदेश भरी छ ।’ मोटरेबल पक्की पुलमा धेरै समस्या रहेको उनले बताए ।
केही दिनदेखि गोरखाको बिभिन्न पालिकामा संचालित बिकास निर्माणका योजनाको अनुगमनमा रहेका मन्त्री बस्नेतले बिकास निर्माणका काम सन्तोष मान्ने गरी अघि बढेको दावी गरे । गण्डकी प्रदेशमा पृथ्वी सुब्बाकै नेतृत्व रहने मन्त्री बस्नेतले बताए ।
‘गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव स्विकृत हुँदैन’ उनले भने ‘हाम्रो प्रदेशमा पृथ्वी सुब्बा गुरुङकै नेतृत्व रहन्छ ।’ गोरखामा नेकपाको ओली पक्षधरहरुको भेला तथा प्रशिक्षण कार्यक्रममा पनि उनी निरन्तर सहभागी छन् ।




