
अब गोरखाको आँपपिपल अस्पतालमै अक्सिजन प्लान्ट
अक्सिजन सिलिण्डर लिन तथा रिफिल गर्नका लागि अब चितवन, काठमाडौं वा पोखरा जानुपर्ने बाध्यता अब टर्ने भएको छ । अबको केही महिनाभित्रै गोरखामा नै अक्सिजन उत्पादन हुनेभएपछि यो बाध्यता समाप्त हुने भएको हो ।
गोरखाको आँपपिपल अस्पतालमा अब अक्सिजन उत्पादन हुने भएको छ । रोटरीक्लवको सहयोगमा सो अस्पतालले अक्सिजन उत्पादन गर्न लागेको हो । अक्सिजन प्लान्ट स्थापनाको प्रक्रिया सुरु भइसकेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत बाबुराम गिरीले जानकारी दिए ।
करिब ९० लाख लागतमा अक्सिजन प्लान्ट तयार हुने उनले बताए । ‘अक्सिजन प्लान्ट खरिदका लागि टेण्डर आव्हान भयो । भेण्डर छनौट गरेर सम्झौतासमेत भइसकेको छ’, गिरीले भने, ‘आरती मेडिटेकले फ्रान्सको अक्सिप्लस कम्पनीको प्लान्ट ल्याउने प्रक्रिया सुरु गरिसकेको छ ।’ ५८ लाख रुपैयाँमा प्लान्ट ल्याउने गरी सो मेडिटेकसँग सम्झौता भएको उनले बताए ।
उत्पादन गर्ने प्लाण्ट मेसिनलाई ५८ लाख रुपैयाँ परे पनि पूर्वाधार निर्माण, जडान र सञ्चालनमा ल्याउँदासम्म ९० देखि ६५ लाख रुपैयाँसम्म खर्च हुनसक्ने अस्पतालले जनाएको छ ।
२०७८ सालको बैशाखदेखि सञ्चालन गर्ने आँपपिपल अस्पतालको तयारी छ । ‘हामीले नयाँसालको बैशाखदेखि उत्पादन सुरु गर्ने लक्ष्य राखेका छौँ तर आरती मेडिटेकले त्योभन्दा पहिल्यै तयार गर्ने प्रतिवद्धता गरेको छ’, गिरीले भने ।
रोटरीक्लव अफ गोरखाको समन्वयमा रोटरी इन्टरनेशनल र रोटरी क्लव अफ जर्मनीले अक्सिजन प्लाण्ट जडानका लागि सहयोग गरेको अस्पतालले जनाएको छ ।
आवश्यक परेका बेला तुरुन्त अक्सिजन उपलब्ध हुन सकोस् भन्ने उद्देश्यले अक्सिजनप्लान्ट स्थापना गर्न लागिएको अस्पतालले जनाएको छ । ‘अहिले हाम्रो अस्पताललाई अथवा गोरखामा अक्सिजन चाहियो भने कि चितवन, कि काठमाडौँ, पोखरा जानु पर्ने बाध्यता छ’, प्रमुख कार्यकारी अधिकृत गिरीले भने, ‘आवश्यक पर्यो भने लिन जान कम्तिमा तीनघण्टा, लिएर आउन तीन घण्टा, अक्सिजन भर्न गरेर धेरै समय लाग्ने भयो । त्यतिबेलासम्म बिरामी वा घाइतेलाई जोखिम भइसक्छ । त्यसैले जिल्लामा नै अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको हो ।’
सो प्लाण्टले प्रतिदिन २० वटा सिलिण्डरमा अक्सिजन रिफिल गर्न सक्ने उनले बताए ।




