| आइतवार, कार्तिक २२, २०८३

बसाँई सरेकालाई नागरिकता सिफारिस गरेपछि शहिदलखन ४ का अध्यक्षलाई प्रशासनले बोलायो

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कृष्णबहादुर प्रजालाई जिल्ला प्रशासन कार्यालयले बयानका लागि बोलाएको छ ।

शहिदलखन गाउँपालिका ४ ताक्लुङ (साबिक ताक्लुङ ३) बाट बसाँई सरेर चितवन गएका अर्जुनबाबु तिवारीका छोरा अषिश तिवारीलाई नागरिकता सिफारिस गरेकाले उनलाई बोलाइएको प्रशासनले जनाएको छ ।
अर्जुन तिवारी लामो समयदेखि बेल्जियममा बस्दै आएका छन् । उनले त्यहाँबाट पनि स्थायी बसोबासको कागजात (पिआर) लिएको, उनको छोराको पनि पिआर हुन सक्ने उजुरी आएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए ।

‘प्रशासन कार्यालयमा उजुरी परेपछि हामीले छानबिनका लागि कागजात खिचेर राखेका छौँ’ उनले भने ‘वडा अध्यक्ष र वडा सचिवलाई बयानका लागि बोलाएको छु, त्यसपछि थप पुष्टि हुनेछ ।’ सिफारिस लिन आर्थिक लेनदेन भएको उजुरी समेत प्रशासनमा परेपछि प्रजिअले वडा अध्यक्ष प्रजा र सचिव रेश्मा थापालाई आईतवार कार्यालय समय भित्रै प्रशासन आउन निर्देशन गरेको हुन् ।
शुक्रवार आषिश तिवारीले वडाबाट नागरिकताको सिफारिस लिएका छन् ।

आईतबार उनी उक्त कागजात लिएर जिल्ला प्रशासन कार्यालय गोरखा आईपुगेका थिए । ढाँटछल गरेर आर्थिक लेनदेनमा सिफारिस भएको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारीले सिफारिस भएको कागजात झिकाएकाले नागरिकता भने जारी भएको छैन ।
वडा अध्यक्ष कृष्णबहादुर प्रजाले भने जन्मदर्ताको प्रतिलिपी भेटिएको र सोही आधारमा नागरिकता सिफारिस गरेको बताउँदै अन्य विषय आफुलाई थाहा नभएको प्रतिक्रिया दिए ।
बसाँई सराई गरेर गएकालाई फिर्ता भएको कागजात नहुँदा सम्म यहाँबाट नागरिकता दिलाउन सिफारिस गर्नु गैरकानुनी भएको प्रजिअ भट्टराईले बताए । ‘बिदेशी पिआर भएकालाई सिफारिस दिनु अर्को गैरकानुनी पाटो हो, लेनदेनको कुरा पनि छ, हामी अनुसन्धान गर्दै छौँ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्