
गण्डकी प्रदेश सरकार अहिले ढल्दैन : मन्त्री बस्नेत
गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गण्डकी प्रदेश सरकार आफ्नो कार्यकालभरि नढल्ने दाबी गरेका छन् ।
आइतबार बिहान गोरखामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले अबको पाँचबर्ष पृथ्वी सुब्बा गुरुङकै नेतृत्वले सरकार चलाउने बताए । ‘गण्डकी प्रदेश सरकारविरुद्ध अंकगणितीय आधारमा अविश्वासको प्रस्ताव आउँदैन र आयो भने पनि त्यसले कुनै अर्थ राख्दैन’, उनले भने, ‘ढुक्क भए हुन्छ, गण्डकी प्रदेशको सरकार अबको दुई बर्ष पृथ्वीसुब्बा गुरुङकै नेतृत्वमा चल्छ । त्यसमा कुनै शंका गर्नु जरुरत छैन ।’
सरकारको मन्त्री भने आवश्यकता अनुसार हेरफेर हुनसक्ने उनले बताए । ‘मन्त्रीहरु थप्ने, घटाउने भन्ने कुराचाहिँ मुख्यमन्त्रीमा निर्भर हुन्छ । उहाँलाई आवश्यक परे थप्न पनि सक्नुहुन्छ, हटाउन पनि सक्नुहुन्छ । तर नेतृत्व फेरिँदैन’, उनले भने । अंकगणितीय खेल भने खेल्न खोजिने आफूहरुको आँकलन रहेको उनले बताए ।
मध्यपहाडी लोकमार्गको गण्डकी प्रदेशखण्डमा विद्यमान विवाद समाधानको नजिक पुगेको उनले बताए । विवाद समाधानका लागि आफ्नै नेतृत्व समिति गठन गरेको भन्दै मन्त्री बस्नेतले अब काम सुचारु हुने बताए ।




