| आइतवार, कार्तिक २२, २०८३

आँबुखैरेनीको मार्किचोकमा ५३ लाख लागतमा स्वास्थ्य केन्द्र बन्यो

तनहुँको आँबुखैरेनी गाउँपालिका–२, मार्किचोक स्थित तिलबारीमा आज आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरिएको छ । एक समारोहकबीच गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले ५३ लाख ३८ हजार २९ रुपैंया ८६ पैंसाको लागतमा निर्मित सो आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरेका हुन् ।

उद्घाटन गर्दै चुमानले आँबुखैरेनीमा छिट्टै १५ बेडको अस्पताल स्थापना गर्ने बताए । अस्पताल कुन स्थानमा बनाउने र उपयुक्त सरकारी खाली जग्गाको खोजी भैरहेको उनले बताए । यसको लागि ढकालकारको सेना गणको तल्लो खण्ड खाली जग्गा उपयुक्त हुन सक्ने र सोही स्थानमा अस्पताल बनाउने बिषयमा सरकारसँग पहल भएको मन्त्री चुमानको भनाई छ ।

पर्यटकीय स्थान छिम्केश्वरीको विकास नगरे सम्म आँबुखैरेनीको समग्र विकास सम्भव नहुने उनले बताए । मन्त्री चुमानले आँबुखैरेनी–छिम्केश्वरी सडक निर्माणको लागि ५० करोडको बजेट मार्फत अहिले बाटो निर्माणको काम भैरहेको र बजेट थपिदै जाने आश्वासन दिए । यस्तै, प्रदेश सरकारबाट छिम्केश्वरी माई मन्दिरको पुन निर्माणको ४० लाख रुपैंया छुट्याईएको र गाउँपालिकाले खर्च गर्न नसक्दा मन्दिरको पुननिर्माण अधुरो रहेको चुमानको गुनासो छ ।

उद्घाटन कार्यक्रममा आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद पोखरेल, आँबुखैरेनी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष कटक बहादुर थापा लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रममा लोक दोहोरी गायक कमल सापकोटाले स्वास्थ सम्बन्धि गित प्रस्तुत गर्नुभएको थियोे । सो आधारभूत स्वास्थ्य केन्द्रको समउद्घाटन सगैं आजबाट सेवा सुरु भएको छ । केन्द्रमा १ जना एच. ए., २ जना एन.एम, १ जना कार्यालय सहयोगी रहेको प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद पोखरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्