| आइतवार, कार्तिक २२, २०८३

पालिकास्तरमा मध्यावधि निर्वाचनको धमाधम तयारी


जिल्ला निर्वाचन कार्यालयले वैशाखमा हुने भनिएको मध्यावधि निर्वाचनको तयारी थालेको छ । प्रत्येक पालिकामा आज(शुक्रबार)देखि मतदाता नामावली संशोधनको काम सुरु गर्ने जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइरालाले जानकारी दिए ।


‘आजदेखि गोरखाका सबै गाउँपालिका, नगरपालिकाहरुमा मतदाताको विवरण सच्याउनका लागि निवेदन संकलन कार्य सुरु हुदैछ’, कोइरालाले भने, ‘जसमा पुस ५ गते(निर्वाचन घोषणा भएको दिन)सम्म दर्ता भएका मतदाताको नाम सुधार्ने, थप्ने, घटाउनका लागि निवेदन संकलन हुने भएको छ । माघ १८ गतेसम्म नाम संशोधनको निवेदन संकलन हुनेछ । संकलित निवेदन उपर अध्ययन, छानविन गरी निर्वाचन आयोगबाट सदर गरेर आएपछि अन्तिम नामावली तयार हुनेछ ।’


निर्वाचन आयोगको निर्देशन अनुसार बिहिबार सबै पालिकाको केन्द्रहरुमा सर्वदलीय बैठक राख्ने कार्यक्रम सम्पन्न भएको छ । बैठकले पारित गरेको निर्णय तथा कार्यक्रम तालिका प्रकाशन गर्ने काम पनि सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी कोइरालाले जानकारी दिए ।

पालिकास्तरमा निर्वाचनको कार्यक्रम सञ्चालन गर्न निर्वाचन आयोगले कर्मचारी खटाइसकेको जनाएको छ । ‘प्रत्येक पालिकाको केन्द्रमा रहेर काम गर्ने गरी सहायक नाम दर्ता अधिकारीको १५ दिने नियुक्ति भइसकेको छ’, कोइरालाले भने, ‘उहाँहरुले पुस ५ गतेसम्मको मतदाता नामावली स्थानीय तहको केन्द्रमा प्रकाशित गरिसक्नु भएको छ । झुठा विवरण पेश गरेको भए उजुरी संकलन पनि भइरहेको छ । उजुरीहरु आउँदो २२ गतेसम्म संकलन गर्ने, सबैबाट प्राप्त विवरण निर्वाचन कार्यालय, कार्यालयबाट आयोगमा पठाउने काम हुन्छ । त्यसपछि अन्तिम नामावली प्रकाशित हुन्छन् ।’


मतदाता नामावली अद्यावधिक कार्यक्रम अन्तर्गत गत पुस ५ गतेसम्मको साविकको मतदाता नामावलीमा थप हुदैन । बरु त्यसयता मृत्यू भएका, बसाइँसराइ भएकाहरुको नामावली घट्न सक्ने कार्यालयले जनाएको छ । साथै अहिले मतदाताले निर्वाचन क्षेत्र सार्न पाउने व्यवस्था नगरिएको कार्यालयले जनाएको छ ।


गत पुस ५ गतेसम्म अध्यावधिक मतदाता नामावलीअनुसार गोरखामा जम्मा दुईलाख सातहजार सातसय ४६ जना मतदाता रहेका छन् ।


उनीहरुमध्य गोरखा नगरपालिकामा ३३ हजार दुईसय आठ, पालुङटार नगरपालिकामा ३१ हजार एकसय ३२ जना, अजीरकोट गाउँपालिकामा १२ हजार ७८ जना, आरुघाट गाउँपालिकामा १७ हजार ४९२ जना, गण्डकी गाउँपालिकामा १७ हजार चारसय आठजना, चुमनुब्री गाउँपालिकामा चारहजार छसय चार जना मतदाता रहेका छन् । त्यस्तै धार्चे गाउँपालिकामा नौहजार आठसय ५१ जना, भीमसेनथापा गाउँपालिकामा १८ हजार आठसय ४८ जना, शहीदलखन गाउँपालिकामा २२ हजार नौसय ३० जना, सिरानचोक गाउँपालिकामा २० हजार तीनसय छ जना र बारपाक सुलीकोट गाउँपालिकामा १९ हजार आठसय ८९ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्