
साना शहरी खानेपानी आयोजनाको आयव्यव सार्वजानिक
गोरखाबजारमा खानेपानी आपूर्ति गर्दै आएको पृथ्वीनारायण साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गत आर्थिक वर्षको आम्दानी तथा खर्च विवरण सार्वजानिक गरेको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै सो सँस्थाले गत आर्थिक बर्षको कुल एककरोड २० लाख ६६ हजार ९७८ रुपैया आम्दानी र खर्च विवरण सार्वजानिक गरेको हो ।
‘कोराना महामारीका कारण गत आर्थिकवर्ष हामीले वार्षिक साधारण सभा गरेर आयव्याय विवरण सार्वजानिक गर्ने अबस्था रहेन,’ अध्यक्ष बिनोद अर्यालले भने, ‘त्यसैले पत्रकार सम्मेलनमार्फत हाम्रो संस्थाको गतिविधिहरु सार्वजानिक गरेका छौं । आशा छ सबै उपभोक्ताले जानकारी पाउनुहुनेछ ।’ यसअघिको मौज्दाद रकम, पानी महसुलबाट प्राप्त रकम, नयाँ सदस्यता शुल्क, जडान शुल्क धरौटी शुल्क, मिटर बिक्रि, ठाउँसारी, नामसारी लगायतका शीर्षकमा उक्तलाई आम्दानी हुने गरेको छ । लिफ्टिङ प्रविधिमा आधारित उक्त आयोजनाको सबैभन्दा धेरै ५८ लाख रुपैया विद्युत महशुलमा खर्च गर्ने गरेको छ । कर्मचारी तलब भत्तामा २३ लाख ५२ हजार रुपैया, स्रोत मुआब्जा खर्च ७२ हजार, मर्मत सम्हारमा सातलाख १२ हजार तीनसय नौ रुपैया खर्च भएको संस्थाले जनाएको छ । ‘विद्युत महशुलमा ठूलो परिमाणमा रकम खर्च हुन्छ,’ उनले भने, ‘त्यसरी महंगोमा तानेको पानी चुहावटबाट झण्डै ४५ प्रतिशत खेर गइरहेको छ । त्यसले संस्थालाई निकै घाटा भएको छ ।’ मूलदेखि रिजर्भ ट्याङ्की लगायत बिभिन्न ठाउँमा ९.८ किलोमिटर लामो पाइप परिवर्तन गर्नुपर्ने अबस्था आएको छ । आयोजना मर्मतका लागि आठ करोड ५२ लाख रुपैया लाग्ने अनुमान गरिएको छ । ‘हामीले खानेपानी मन्त्रालयमा धाउँदा धाउँदा त्यसको ५० प्रतिशत अनुदान दिने कुरा भएको छ,’ उनले भने, ‘बाँकी रकम कसरी जुटाउने भन्ने कुरामा अझै अन्यौलता छ ।’
दैनिक १२ लाख लिटर पानीमा माग भएपनि अहिले ८ लाख लिटर भन्दा उपलब्ध गराउन नसकिएको उक्त संस्थाले जनाएको छ । गत आर्थिक बर्षमा बिभिन्न शीर्षकमा कटौती गरेर कुल ११ लाख ५४ हजार ३३४ रुपैया २३ पैसा बचत गरेको अध्यक्ष अर्यालले बताए । गोरखा सदरमुकाम भित्रका अहिले उक्त खानेपानी आयोजनाले १२ सय ५१ उपभोक्तालाई खानेपानी उपलब्ध गराउँदै आएको छ ।




