
भीमसेन थापा गाउँपालिकाले बाँड्यो ४० वटा हाते ट्याक्टर
भीमसेन थापा गाउँपालिकाले किसानहरुलाई ४० थान हाते ट्याक्टर वितरण गरेको छ । गाउँपालिका कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा पालिकाका अध्यक्ष इश्वर पाण्डेले ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्याक्टर वितरण गरेका हुन् ।
४८ हजार पाँचसय रुपैयाँ पर्ने सात हर्सपावरको हाते ट्याक्टर किसानहरुलाई २४ हजार दुईसय ५० रुपैयाँमा उपलब्ध गराइएको हो ।
गाउँपालिकामा दर्ता भएका कृषि समूहको सिफारिसमा ५० प्रतिशत शुल्क र जडान खर्च बापत दुईहजार पाँचसय रुपैयाँ लिएर हाते ट्याक्टर वितरण गरेको गाउँपालिकाले जनाएको छ । सहुलियतको सो ट्याक्टरले किसानले आफ्नो समूहमा आवद्ध किसानको खेत पनि जोतिदिनु पर्ने व्यवस्था गरिएको छ । यसबापत किसानले ट्याक्टरधनीलाई प्रतिघण्टा सातसय रुपैयाँका दरले शुल्क तिर्नुपर्ने दररेट पनि गाउँपालिकाले निर्धारण गरेको छ ।
सोही समारोहमा गाउँपालिकाले किसानहरुलाई सातथान कोदो कुट्ने थ्रेसर मेसिन र ८३ थान बाँदर धपाउने बन्दूक पनि वितरण गरेको छ । साथै आठवटै वडाका पाँच पाँच जनाका दरले ४० जना कोदो खेती गर्ने किसानलाई पाँच, पाँच हजार रुपैयाँका दरले प्रोत्साहन रकम पनि प्रदान गरिएको छ । सबैभन्दा धेरै कोदो खेती गर्ने किसानलाई प्रोत्साहन गरिएको गाउँपालिकाका अध्यक्ष पाण्डेले जानकारी दिए ।
‘जग्गा बाँझो नराख्ने उद्देश्यले हामीले यो कार्यक्रम लागु गरिएको हो’, पाण्डेले भने, ‘खेत, बारी, पाखा, पखेरो जहाँतहीँ कोदो खेती गर्न सकिने र अहिले कोदोको लोकप्रियता बढ्दै गएकाले यसको प्रवद्र्धन गर्न किसानलाई प्रोत्साहित गरिएको हो ।’ जोत्नका लागि ट्याक्टर, भित्र्याउनका लागि थ्रेसर, औषधी छर्नका लागि पम्प वितरण गरेपछि किसानहरु खेतीपातीमा लाग्ने विश्वास लिइएको उनले बताए ।
कृषि सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिकाकी उपप्रमुख, वडाअध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु र किसानहरु सहभागी थिए ।




