
जित्दै हार्दै जौबारीका जीतेको ६० हिउँद
‘घर काँ हो नभन दाई तिम्ले, घर छैन बैरागी जोगीको’, सिरानचोक ८ जौबारीको जंगलको ढिस्कामा सुतिरहेका एक वृद्धले गीतमै जवाफ दिए, ‘कुरा लुकाएर लुक्दैन, सुकुम्बासी हो, घर नि छैन, थर नि छैन ।’
जौबारीका जीतबहादुर परियारले घर नजिकैको जंगलको ढिस्कोमा यसरी नै पार तापेर यसपालि तीनबीसे हिउँद जित्दैछन् ।
बिहानभरि काम खोज्न गाउँ चाहर्छन् । भारी खोज्दै गोपालडाँडा, फिनामटार, कहिलेकहीँ अर्कुल, भालुस्वाँरासम्म झर्छन् । चारपाँचसय रुपैया गोजीमा परेपछि त्यसदिनको दुई छाक टर्ने हिसाब मिल्छ अनि घर फर्किन्छन् ।
बिहानको खानापछि जुठोधन्दा सकेर श्रीमान, श्रीमती घर नजिकैको जङ्गलमा जान्छन् । ढिस्कोमा घाम लाग्छ । एकैछिन दुवैजना गफगाफ गरी श्रीमती दाउरा टिप्न जंगल पस्छिन्, श्रीमान ढिस्कोमा सुत्छन् ।
धनमायाँ उनीभन्दा ११ बर्षले माथिल्लो उमेरकी हुन् । ‘मैले आँखा मारेर ल्याएको हो, यसलाई’, गर्व गर्दै भन्छन्, ‘तैले तेरो स्वास्नी पाल्न सकिनस्, ल हेर म पाल्दिन्छु भनेर ल्याएको हो मेरो बुढीलाई ।’
जब त्यही ढिस्कोमा पनि ओझेल पर्न थाल्छ अनि दुवैजना घर फर्किन्छन् । ‘आज पनि छोराले मेरो कपाल काटिदियो, मैले छोराको कपाल काटिदिएँ । बूढी घाँस दाउरा गर्न वनतिर गई । म यहीँ पल्टिएँ । मीठो निद्रा आयो अनि सुत्दिएँ’, उनले भने ।
जहाँ उनको घर छ, त्यहाँ उदयदेखि अस्तयसम्म घामको मुख देखिदैन । त्यसैले गाउँका जो कोही उनलाई भेट्नु परे घरमा होइन, ढिस्कोमै जान्छन् ।
यो बर्खाको पहिरोले निलेर बचेको थुम्कोमा उनको एउटा घर छ । तर घडेरी छैन । घरमुनि सडक खन्दिए । त्यहाँबाट बर्खामा पहिरो झर्न थाल्यो । पहिरोले निल्न थालेपछि त्यहाँ बस्न नसकेर अल्लि पर पाल टाँगेर जितेको परिबारले बर्खा कटाए ।
आफ्नो नाममा बनाउन उनले स्थानीय एक वृद्धसित पाँच हजार रुपैयाँमा घडेरी किने । ‘आजभन्दा २२ बर्ष पहिला कहिले खाएर कहिले नखाइकन गँगटेको उकालो, ओरालोमा भारी बोकेर कमाएको पैसाले फक्करे बुढासित त्यो घडेरी किनेको हो’, दिक्क लाग्दो बिगत सम्झँदै उनी भन्छन्, ‘बुढाले छेपाराको आहान जस्तो गरेर मलाई डुबाइदिए । कहिले हिउँदको छोटो दिन छ, अब बर्खाको लामो दिन लागेपछि पास गर्न जाउँला भन्यो । हुन्छ त नि भनेँ । अनि फेरि बर्खा लागेपछि अहिले औलमा चर्को घाममा हिँड्न सकिदैन । कालीमाली बर्खा छ, बाढी पहिरो आउँछ । जान सकिदैन बरु हिउँदको दिनमा पास गर्न जाउँला भन्यो । भन्दाभन्दै बुढा मरेर गइहाल्यो । अहिले न उसको छोरा छ, न छोरी छ । पैसाचाहिँ लगिहाल्यो, तर घडेरी आफ्नो बनाउन पाएको छैन । बाझुम् भने कोसँग बाझुम् । पैसा पनि गयो, बुढो पनि गयो, जग्गा चाहिँ न उँधोको न उँभोको भयो । छोडुम् भने त्यो बेलाको पाँचहजार चानेचुने थिएन । कहिले फुको चिउरा खाएर कहिले भोकभोकै भारी बोकेर कमाएको पैसाले किनेको, माया लागेको छ । लिउँ कसरी लिउँ ।’
सुकुम्बासीको दिन जुन सरकार आए पनि चपरीमुनिका चपरीमुनि हुने उनले बताए ।




