
बारपाकको मौलिकता गुमेकोप्रति यूरोपियन युनियनकी राजदूत चिन्तित
यूरोपियन युनियनकी राजदूत नोना डिप्रेजले बारपाकको मौलिकता गुमेकोप्रति दुख ब्यक्त गरेकी छिन् । पुनर्निर्माणपछिको बारपाकको अबस्थाको अवलोकन गर्दै उनले संवेदनशीलता नअपनाउँदा ऐतिहासिक गाउँले मौलिकता गुमाएको भन्दै चिन्ता ब्यक्त गरको सो भ्रमणमा सहभागी ट्रान्सपरेन्सी इन्टरनेशनलकी कमला रानाले जानकारी दिइन् ।
एकै ठाउँमा करिब एकहजार घरधुरी रहेको बारपाक २०७२ सालको भूकम्पको केन्द्रविन्दू हो । भूकम्पअघि बारपाकमा ढुङ्गा र काठले बनेका घरहरु थिए । तर पुनर्निर्माणपछि अधिकांश घर आरसिसी ढलान गरेर निर्माण गरिएको छ ।
‘पुनर्निर्माणको क्रममा मौलिकता जोगाउने रणनीति नअपनाउँदा बारपाकको मौलिक सौन्दर्य गुम्यो’, राजदूत नोनाले भनिन्, ‘लाखौँ, करोडौ खर्च गरेर बनाइएका कसैका घर सहरका जस्ता ठूला छन्, कसैका काठमाथि जस्ताले बारेर बनाइएका साना घर छन् । एकरुपता अपनाएर निर्माण गरेको भए गाउँको मौलिक सौन्दर्य बच्थ्यो ।’ साथै आवास पुनर्निर्माणको क्रममा मापदण्ड पालना नगरिएको भन्दै उनले आलोचना गरिन् । साथै उनले यसबारे सरकारसँग गम्भीर रुपमा छलफल गर्ने बताएको ट्रान्सपरेन्सी इन्टरनेशनलकी कमला रानाले जानकारी दिइन् ।
बारपाकको पुनर्निर्माण प्रक्रिया सर्वोत्कृठ भएको भन्दै केही महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कृत गरेको थियो । त्यसपछि इयूले बारपाक पुनर्निर्माणको अवस्था अवलोकन गर्ने निणर्य गरेको थियो ।

भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्थापना परियोजनाका लागि यूरोपियन यूनियनले नेपाल सरकारलाई एकसय मिलियन डलर अनुदान दिएको थियो । सो रकमबाट निर्माण भएका निजी आवास, सम्पदा, सडक, सरकारी तथा सार्वजनिक भवनहरुको अवलोकनका लागि इयूका नेपाल प्रतिनिधिहरु आएका हुन् ।
अवलोकनपछि राजदूत नोनाले पुनर्निर्माणपछि जीविकोपार्जनमा सहयोग गर्ने बारे छलफल भइरहेको बताइन् ।
अवलोकनका क्रममा स्थानीयबासीले ६५ वटा घर अझै पुनर्निर्माण नभएको भन्दै गुनासो गरेका थिए । भूकम्पको केन्द्रविन्दूमा सबै घर ध्वस्त भएतापनि तथ्यांक संकलनमा लापार्बाही गर्दा प्राधिकरणले ६५ घर छुटाएको स्थानीय वृषराज घले बताउँछन् । ‘भूकम्पमा मैले बुबा गुमाए, तर सरकारले मलाई भूकम्प पीडित लाभग्राहीको सूचीमा समेट्न सकेन’, घलेले भने, ‘भूकम्प पीडितलाई राहत दिनुको साँटो सरकारले २८ सय रुपैयाँ तिरेर गुनासो फर्म भर्न लगायो । तैपनि लाभग्राही सूचिमा समेटेको छैन ।’
पिडितलाई झन सास्ती दिइएकोमा राजदूतले दुख ब्यक्त गरेकी थिइन् ।

साथै उनले भूकम्पपछिको पुनर्निर्माणमा इयूले गरेको सहयोग कतैपनि उल्लेख नभएकोप्रति पनि दुखेसो गरेकी ट्रान्सपरेन्सी इन्टरनेशनलकी कमला रानाले बताइन् । ‘हामीले शिक्षा सुधारका लागि भनेर एकमुष्ठ रकम सरकारलाई दिएका थियौँ तर हामीले गरेको सहयोग कहिँकतै देखाइएको छैन किन ?’ राजदूतले प्रश्न गरिन्, ‘भूकम्पमा परेर बुबा गुमाउनु भएकाको परिबारको समेत लाभग्राही सूचीमा नाम नपर्नु र चार बर्षसम्म गुनासो फाराम भर्ना पनि सुनुवाइ नहुनु, यो कस्तो गैरजिम्मेवारीपन हो ? कस्तो विधि हो ? कस्तो प्रक्रिया हो ?’
सो अवसरमा बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले ९६ प्रतिशत पुनर्निर्माणको काम सम्पन्न भइसकेको जानकारी गराएका थिए । साथै धार्मिक, ऐतिहासिक, पर्यटकीय सम्पदाहरु निर्माणको चरणमा रहेको, सडक, बाटो, चौतारी, शहिदपार्क बन्दै गरेको जानकारी गराएको ट्रान्सपरेन्सी इन्टरनेशनलकी कमला रानाले बताइन् ।

साथै उनले बारपाकबासीको जीविकोपार्जनमा सुधार गर्ने उद्देश्यले कृषि, पशुपालन, पर्यटन, सिलाइबुनाइ लगायतका क्षेत्रमा गाउँपालिकाले योजना तथा कार्यक्रम बनाइरहेको बताए ।
यूरोपियन युनियनका राजदूतको बारपाक भ्रमणमा ट्रान्सपरेन्सी इन्टरनेशनलले समन्वय गरेको थियो ।
तस्वीर सौजन्य : कमला राना, (टिआई)




