| आइतवार, कार्तिक २२, २०८३

बुबा आमाको सम्झनामा सरस्वती र नवजागृतीमा अक्षयकोष स्थापना


गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ७ का भुमी गोतामेले दिबंगत भएका बुबा आमाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

भिमसेन थापा गाउँपालिका ६ को नबजागृती चण्डी मावि अश्राङ र सरस्वती मावि बोर्लाङमा एक लाख १० हजार दुई सय दुई रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।
एउटा विद्यालयका लागि ५५ हजार एक सय एक रुपैयाँ बरावरको अक्षयकोष स्थापना गरिएको छ । बुबाको मृत्यू भएको १३ औँ दिनको तिथि पारेर दुबै विद्यालयलाई नगद हस्तान्तरण गरिएको परिवारका एक सदस्यले बताए । ‘रबिलाल मोतिमाया स्मृती अक्षयकोष’ नाम दिइएको उक्त कोषबाट वार्षिक रुपमा एउटा विद्यालयले एक जना शिक्षकलाई पुरस्कृत एवं सम्मान गर्नेछ ।

शिक्षक मूल्याङ्कन सिकाई उपलब्धी नियमित उपस्थिती, प्रधानाध्यापक र विद्यालय ब्यवस्थापन समितिको मूल्याङ्कनबाट शिक्षक छनौट गरिने विद्यालयले जनाएको छ । विद्यालय, विद्यार्थी र समुदाय प्रति शिक्षकलाई अझै धेरै कर्तब्यनिष्ठ बनाउन अक्षयकोष स्थापना गरिएको गोतामे परिवारले जनाएको छ ।
एक देखि १२ सम्म पढाउने शिक्षक उक्त अक्षयकोषबाट सम्मानीत हुनेछन् । भुमि गोतामेको बुबा रबिलाल गोतामेको गत पुस ९ गते देहावसान भएको थियो भने आमा यस अघि नै दिबंंगत भईसकेकी थिईन् । १३ औँ दिनको तिथिमा आयोजित एक शोक सभाका बिच परिवारजनले सबैप्रति कृतज्ञता प्रकट गरेको थियो । अक्षयकोषका संस्थापक गोतामे नबजागृती चण्डी माविका शिक्षक समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्