
समाजवादी पार्टीको ध्यानाकर्षण : मालपोतमा बिचौलिया हाबी, सरकारी अड्डाको काममा ढिलासुस्ती
जनता समाजवादी पार्टी नेपाल गोरखा नगर समितिले सरकारी अड्डाको काममा ढिलासुस्ती भएको भन्दै तत्काल सेवा सुधार गर्न प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण गराएको छ ।
नगर समितिका इन्चार्ज ज्योति कोईरालाले बिहिवार प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रशासन, मालपोत, नापी, राजस्व, बैंक, घरेलु लगायतका कार्यालयमा ढिलासुस्ती र अनियमितता हुने गरेको बताए ।
‘लेखापढी ब्यवशायीले सेवाग्राही सँग चर्को शुल्क लिएर बिचौलियाको काम गर्छन’ नगर इन्चार्ज कोईरालाले मालपोत कार्यालय प्रति लक्षित गर्दै भने ‘सोझासाझा जनताको काम हुँदैन, पैसा तिर्नेको काम लेखनदासले फाईल घुमाएर धेरै पैसा असुलेर गरिरहेका छन् ।’ मालपोत कार्यालयको गेट भित्र लेखापढी गर्नेहरु जान नपाउने ब्यवस्था गर्नुपर्ने उनले बताए ।
अन्य सरकारी कार्यालयमा पनि सेवा दिन ढिलासुस्ती गर्ने, सेवाग्राहीलाई बेवास्था गर्ने, पैसा माग्ने गरेको गुनासो उनको थियो ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले कार्यालय प्रमुखको बैठकमा सेवा छिटो छरितो र ब्यवस्थित रुपमा प्रदान गर्न सबै कार्यालयलाई निर्देशन गर्ने बताए । ‘कुनैपनि सरकारी कार्यालयमा जनताको काममा ढिलासुस्ती हुनु हुँदैन’ उनले भने ‘त्यस्तो गुनासो आएमा खबर दिनुहोस् जतिबेला पनि फोन उठाउँछु र सुधार गर्न निर्देशन गर्छु ।’
जिल्ला प्रशासन कार्यालयमा आफुले सेवा सुधार गरेको बताउँदै उनले अन्य कार्यालयलाई निग्रानी गर्ने अख्तियारी समेत रहेकाले प्रशासन आफैँमा मोडल कार्यालय बन्नुपर्ने बताए । ‘यहाँबाट अहिले सकेको सुधार गरेर सेवा दिएका छौँ’ उनले भने ‘अझै केही गुनासा छन् भने भन्नुहोला ।’
मालपोत, नापी जस्ता अड्डालाई प्रविधिमैत्री नबनाउँदा जनताले धेरै दुःख पाएको गुनासो ध्यानाकर्षण पत्र बुझाउन पुगेकाहरुले गरेका थिए ।
बिचौलियाले लगेका फाईल एकै दिनमा काम हुने तर सर्वसाधारणले लगेका फाईल धेरै दिन सम्म काम नभएर बस्नुपर्ने अवस्था रहेको गुनासो बारम्बार आईरहेको छ । प्रमुख जिल्ला अधिकारी भट्टराईले कतिपय बेला कागजात नपुगेका कारण फिर्ता पठाउन, केही समय ढिला हुँदा सेवाग्राहीलाई काम नभएको भान हुने गरेको समेत बताए । ‘सेवा ग्राहीले आफ्नो कागजात ठिकठाक गर्नुपर्छ, सेवा प्रदायकले दायित्व पुरा गर्नु र छिटो सेवा दिनुपर्छ’ उनले भने ।




