| आइतवार, कार्तिक २२, २०८३

गोरखा–काठमाण्डौँ पदयात्रामा निस्कियो नेपाली सेनाको टोली

नेपाली सेनाको टोली गोरखा काठमाण्डौँ पदयात्रामा निस्किएको छ । गोरखा–काठमाण्डौँ एकिकरण मार्गमा पदयात्रा सुरु गरेको ४० जनाको टोलीलाई गोरखा दरबार परिसरबाट आज बिहान बिहान बिदाई गरिएको हो ।


राष्ट्रिय झण्डा, सेनाको आफ्नै झण्डा, टर्च बोकेर फुलको माला लगाएर नेपाली सेनाको टोली हनुमान भञ्ज्याङबाट हिँडेको छ । पृथ्वीनारायण शाहाले नेपाली एकिकरण गर्दा गोरखा देखि काठमाण्डौँ सम्म हिँडेको बाटो भएर यात्रा गर्दै यात्रामा सहभागीहरु पुस २६ गते काठमाण्डौँ पुग्नेछन् र २७ गते हनुमान ढोकामा आयोजित राष्ट्रिय एकता दिबस तथा पृथ्वी जयन्तीको कार्यक्रममा सहभागी हुनेछन् ।
यात्रामा सहभागीलाई बिदाई गर्दै पश्चिम पृतनापति, उपरथी बिनय विक्रम राणाले इतिहासको संरक्षण गर्न एकिकरण मार्गको पदयात्राले महत्वपूर्ण भुमिका खेल्ने बताए । ‘सेनाको जिम्मेवारी राष्ट्रिय एकता कायम गर्ने पनि हो’ उनले भने ‘इतिहास जोगाउन यस्तो अभियान देशब्यापी चलिरहेको छ ।’ नेपाल एकिकरण सुरु भएको जिल्ला गोरखाबाट पदमार्ग र पदयात्रा सुरु हुनु नेपालको पहिचान समेत रहेको उनले बताए । पृथ्वी नारायण शाहलाई साथदिने तत्कालिन सेनाका गणमा गोर्खालीहरुको योगदान रहेको बताउँदै पृतनापति राणाले एकिकरणमा पनि गोरखाले ठुलो योगदान गरेको चर्चा गरे ।


यात्रामा रणसिंह दल गण, शार्दुलजंग गुल्म सँगै नेपाली सेनाको पाँच प्रथम कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरखा, बर्दबहादुर र सबुजको टोली सहभागी रहेको रणसिंह दल गण गोरखाका गणपति उज्वल केसीले बताए । गोरखा दरबार–जोर चौतारी–ताप्ले–अश्राङ–बोर्लाङ–बोर्लाङघाट(घाटबेसी) सम्म गोरखाबाट हिँडेको सेना पुग्नेछ । राष्ट्रिय झण्डा, टर्च लाईट, ब्याण्ड बाजा सहित टोली यात्रामा सहभागी छ । गोरखबाट हिँडेको टोलीले धादीङको सल्यान्टारमा देविदत्त गणको टोलीलाई झण्डा, टर्च हस्तान्तरण गर्नेछ । धादीङको टोलीले नुवाकोटको जवरजंग गणको टोलीलाई हस्तान्तरण गरेपछि उक्त टोली काठमाण्डौँ पुग्ने रणसिंह दल गणका गणपति उज्वल केसीले बताए ।


यात्रामा सहभागीलाई बिदाई गर्दै गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्न पदयात्रा, पदमार्गले महत्वपूर्ण भुमिका खेल्ने बताए । ‘इतिहास मेटेर मेटिँदैन भन्ने पुष्टि पदमार्ग र पदयात्राले गरेको छ’ उनले भने ‘पदमार्गलाई ब्यवस्थित गर्न सेनालाई स्थानीय सरकारले पनि सहयोग गर्नुपर्छ, गर्न तयार छ ।’ गोरखा नगरपालिका र भिमसेन थापा गाउँपालिका भएर गोरखा–काठमाण्डौँ एकिरण पदमार्ग धादिङको सल्यान्टार जोडिनेछ ।
भिमसेन थापा गाउँपालिका उपप्रमुख बिनु वाग्लेले पदमार्गमा पर्ने, कोट, किल्ला, पाटी, पौवा संरक्षणमा गाउँपालिकाले ध्यान दिएको बताईन । पदमार्गलाई ब्यवस्थित र ब्यवशायी बनाउँदै ऐतिहासिक रुटको रुपमा बिकास गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए । स्थानीय तह, प्रदेश र संघ सरकारले पदमार्गको संरक्षण र बिकासमा योजना बनाउनुपर्ने उनले बताए । सह सेनानी दलबहादुर थापाको नेतृत्वको सेनाको टोली पदयात्रामा सरिक भएको छ ।



प्रतिक्रिया दिनुहोस्