
गोरखाको विरिञ्चोक होमस्टेको सामुदायिक भवन सिलान्यास
बिरिन्चोक सामुदायिक होमस्टेको सामुदायिक भवन निर्माण प्रक्रिया सुरु भएको छ । कार्यालय सञ्चालन तथा हलका लागि प्रयोग गरिने भवनको बुधबार शिलान्यास गरिएको छ ।
बिरिन्चोक सामुदायिक होमस्टेका अध्यक्ष सम्झना राना मगरको अध्यक्षतामा सम्पन्न एक कार्यक्रमका बीच प्रमुख अतिथि गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भवनको सिलान्यास गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि पन्त, बिशेष अतिथि गोरखा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष देबीबहादुर बस्नेत, पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजङ थापालगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा सामुदायिक बन उपभोक्ता समिति, खानेपानी उपभोक्ता समिति, टोल बिकास संस्था, समाजसेवी, व्यवसायी, नागरिक समाजको उपस्थिति रहेको थियोे । कार्यक्रम निर्माण समितिका संयोजक भूरमण घिमिरेले सञ्चालन गरेका थिए ।
सो भवन निर्माणका लागि गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा बाताबरण मन्त्रालयबाट १० लाख, तारा गाउँ बिकासबाट ६ लाख गरी जम्मा १६ लाख रुपैयाँ प्राप्त भएको कमला रानाले जानकारी दिइन् ।
भवन निर्माणका लागि अपुग रकम नगरपालिका कार्यालयले उपलब्ध गराउने भवन सिलान्यास कार्यक्रममा बोल्दै मेयर पन्तले आश्वासन दिएका छन् । मेयर पन्तले विरिन्चोक सामुदायिक होमस्टे दर्ता गरिएको एक बर्ष मै यति धेरै प्रगति गर्नुमा संचालन समिति, समुदायका नागरिक अभियन्ताहरु लगायत प्रदेश सरकार, स्थानीय सरकार, जनप्रतिनिधिहरुको भूमिका रहेको भन्दै प्रसंसा गरेका थिए । साथै उनले ऐतिहासिक, साँस्कृतिक सम्पदा भाषा भेषभूषा आदि जगेर्ना गर्न सबैले हातेमालो गर्दै जानुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा वडा अध्यक्ष बस्नेतले होमस्टे संचालन सुरु भएदेखि अहिलेसम्मको एक बर्षको अवधिमा बिरिन्चोकमा पर्यटन पर्यावरण प्रबर्द्धन लगायत साँस्कृतिक भेष, गानाबाजा, कार्यालय सन्चालन लगायत स्थापना गर्दा लाग्ने आधारभुत संरचनाको लगायतका सरसामान जोड्न वडा, नगरपालिका, तारा गाउँ बिकास समिति, बन कार्यालय र अहिले प्रदेश मन्त्रालय गरेर २२ लाख ५० हजार रुपैया भित्रिएको बताएका थिए ।
त्यस्तै पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजङ थापाले सदरमुकाम नजिकै रहेको यस होमस्टे पाहुनाहरुको रोजाई बन्दै गइरहेको परिप्रेक्ष्यमा साँस्कृतिक कार्यक्रमहरु, परिकारहरु र अन्य मौलिकता झल्कने रितिरिवाजहरुलाई अध्ययन गर्ने उद्देश्यले पनि पाहुनाहरु आउने हुनाले त्यस्ता विषयलाई पनि समेटेर योजना बनाउन अनुरोध गरेका थिए ।
कार्यक्रमको अन्त्यमा होम स्टेका अध्यक्ष सम्झना रानाले १९ घरबाट सुरु भएको ‘गाउँ बचाउ, गाउँ बनाउ’ अभियानसंगै होम स्टेको लागि न्यूनत्तम आधारभूत संरचना तयार पार्दै भवन निर्माणसम्म आइपुग्दा स्थानीय सरकार, जनप्रतिनिधि, समाजसेवी, पत्रकार लगायत सबै शुभ चिन्तकहरुको उत्तिकै साथ र सहयोगप्रती आभार व्यक्त गर्दै सामुदायिक भवनको लागि जग्गा दाता स्वर्गीय रत्न बहादुर राना र उनका दाजुभाइ सबै जनाको स्मरण गरेका थिए ।




