
धार्चे गाउँपालिकाले गोठालालाई मोबाइल चलाउन सिकाउने
गोरखाको दुर्गम धार्चे गाउँपालिकाले गोठमा बस्ने गोठालाहरुलाई मोबाइल चलाउन सिकाउने भएको छ । आइतबार सम्पन्न हिउँदे सभाले गोठाला हरुलाई एन्ड्रोइड मोबाइल चलाउन सिकाउने कार्यक्रम पारित गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।
‘हाम्रो गाउँपालिकामा सँधै गोठमा बस्ने अनपढ गोठालाहरुको संख्या धेरै छ । यो डिजिटल जमानामा उनीहरु मोबाइल चलाउन पनि जान्दैनन्, त्यसैले गाउँपालिकाले उनीहरुलाई मोबाइल चलाउन सिकाउने कार्यक्रम पारित गरेको हो’, अध्यक्ष गुरुङले भने, ‘गाउँपालिकामा कार्यरत सूचना प्रविधि शाखाका कर्मचारीहरु परिचालन गरी वडावडामा मोबाइल चलाउन सिकाउने कार्यक्रम गर्नेछौँ । पहिलो वर्ष एउटा वडाका एकसय जनाका दरले सातवटा वडाका सातसय जनालाई मोबाइल चलाउन तालिम दिने हाम्रो लक्ष्य हो ।’ लेकको गोठ वेशी झरेको मौका पारेर आउँदो माघ, फागुन महिनामा तालिम सञ्चालन गर्ने उनले बताए ।
दोस्रो चरणमा गोठालाबाहेक अनपढ अरु गाउँपालिकाबासीलाई पनि मोबाइल चलाउन सिकाउने कार्यक्रम रहेको उनले बताए ।
‘डिजिटल धार्चे अवधारणाअनुसार गाउँका अनपढ, अशिक्षितहरुलाई मोबाइल चलाउन र अनपढ जनप्रतिनिधिहरुलाई इमेल, इन्टरनेट चलाउन तालिम सञ्चालन गर्छौँ’, अध्यक्ष गुरुङले भने, ‘यो कार्यक्रम सञ्चालन गर्न खासै धेरै खर्च पनि हुदैन । वडा कार्यालयले सहभागीलाई खाजा खुवाउँछ, कर्मचारीलाई टिएडिए दिन्छ । यति भएपछि पुग्छ ।’
आफू गाउँघर चाहार्ने क्रममा अनपढ सर्वसाधारणले मोबाइल चलाउन नजानेर दुख पाएको देखेपछि सो कार्यक्रमको खाँचो महशुस गरेको अध्यक्ष गुरुङले बताए । ‘म घरदैलोमा गाउँमा जाँदा बुढाबुढीहरु मैले मोबाइल चलाए लाजमानी मानी हेरेको देखेँ । अनि मोबाइल चलाउन जान्न पाए देश, विदेशमा रहेका छोराछोरीसँग भिडियोमा कुराकानी गर्न पाइन्थ्यो भनेको पनि सुनेँ । त्यसैले यो कार्यक्रम गर्ने योजना गरेको हुँ’, अध्यक्ष गुरुङले भने, ‘छोराछोरी विदेशमा छन् । घरमा बुढाबुढी मात्र छन् । मोबाइल चलाउन जान्नु उनीहरुका लागि धेरै उपयोगी हुन्छ ।
मोबाइल चलाउन जाने भने गोठमा बस्नेहरुले पनि फोटो भिडियो खिच्न, युटुव, सामाजिक सञ्जाल चलाएर मनोरञ्जन गर्न पाउछन् ।’ गाउँघर, कुना कन्दरा, खेक, खर्कमा बसेकालाई प्रविधिसँग परिचित गराई देश, दुनियाँ चिनाउनु जनप्रतिनिधिको कर्तव्य रहेको उनले बताए । साथै डिजिटल धार्चेको अवधारणा अनुसार वैंकबाट वृद्धभत्ता लिने, मोबाइल वैंकिङ सिकाउने, मनी ट्रान्सफर, इलेक्टोनिक भौचर, स्थानीय स्तरमा उत्पादित सामान अनलाइनबाट किनबेच गर्ने प्रविधिको विकासका लागि गृहकार्य भइरहेको उनले बताए ।




