
कोरोनाका कारण बन्द रामशाह हाटबजार खुलेसँगै ग्राहकको चाप बढ्दो
कोभिड १९ को प्रभाव सुरु भएपछि गत चैत दोस्रो साताबाट बन्द रहेको रामशाह हाटबजार खुलेको तेस्रो हप्तामा चहलपहल बढेको छ ।
मंसीर २७ गतेदेखि सुरु भएको हाटबजारमा पुस ११ गते शनिवार करिब चार लाखको कारोबार भएको नयाँपुल कृषि उपज बजार संचालक समितिले जनाएको छ । पाँच सयजना ग्राहकले हाट बजारमा किनमेल गरेको समितिका कोषाध्यक्ष चित्रबहादुर बयलकोटीले बताए ।
‘गतहप्ताभन्दा योहप्ता मानिस धेरै आए’, कोषाध्यक्ष बयलकोटीले भने, ‘किसानले उत्पादन पनि बढाउँछन्, हाटमा खरिद गर्न आउने मानिस पनि बढ्दै जाने छन ।’ कोभिडका कारण हाट बजार लगेर बिक्री गर्ने उद्देश्यले किसानले फलाएको तरकारी बिक्री नहुँदा अहिले कम उत्पादन भएको उनले बताए । ‘स्थानीय उत्पादन सबैथोक पाउने भएपछि आँबु खैरेनी, गोरखा, मुग्लिन लगायत ठाउँबाट मानिस आउँछन्’ उनले भने ।
शहिदलखन गाउँपालिका वडा नम्बर ३ रामशाह बजारमा हरेक हप्तको शनिवार हाटबजार संचालन हुँदै आएको छ । मनकामना गाउँपालिका, गण्डकी गाउँपालिका र केही अन्यत्र ठाउँका किसानले उत्पादन भएको कृषि सामग्री हाटबजारमा बिक्रीका लागि ल्याउने गर्छन । कोभिड सुरु हुनुअघि दैनिक ८ देखि १० हजार कृषि उपज बिक्री गर्ने किसानले कोभिड पछि दुई देखि चार हजार मात्रै बिक्री गरेको बताउँछन् । ‘पहिले धेरे मानिस आउँथे, अहिले कोरोनापछि यहाँ किन्न आउने मानिस घटेका छन’ हाटबजारमा तरकारी बिक्री गर्दै गरेकी कल्पना बयलकोटीले भनिन् । बजारमा बिक्री गर्न लैजाँदा दिनभरी डुलाउनुपर्ने, हाटबजारमा ग्राहक आफैँ खोज्दै आउने हुँदा केही सस्तो दिँदा पनि सजिलो भएको उनले बताईन् ।
हाटमा रहेका स्टल मध्ये २० वटा स्थानीय कृषि उत्पादनका लागि छुट्याइएको छ । थोक तरकारी बिक्रेताका लागि तीनवटा, माछा, मासुका लागि एउटा, खाजाको तीनवटा र फेन्सी छ वटामा छन् । ‘किसानलाई हाट बजार आएका बेला तरकारी सँगै फेन्सीका केही सामग्री आवश्यक परेमा खरिद गर्न सहज हुने गरी केही फेन्सीको स्टल पनि राखेका छौँ’, हाट बजार संचालक समितिका अध्यक्ष झकलबहादुर थापाले भने । स्थानीय कृषकले हाटबजारमा स्टल राखे बापत प्रतिहप्ता रु ५०, थोक र फेन्सी ब्यापारीले प्रतिहप्ता एक सय ५० रुपैयाँ शुल्क समितिलाई बुझाउनुपर्छ ।
शहिदलखन गाउँपालिका, गण्डकी प्रदेश कृषि मन्त्रालयको सहयोग र स्थानीयको पहलमा रामशाह बजारमा हाट लाग्दै आएको छ ।




