
बिहीमा दुई पुल र वडा कार्यालय भवन उद्घाटन
चुमनुब्री गाउँपालिका वडा नं. ५ बिहीमा दुईवटा पुल निर्माण सम्पन्न भएको छ । करिब दुई करोड रुपैयाँको लागतमा प्रसिद्ध सेराङ गुम्बा जाने बाटोको सेराङखोला पुल र बिही र राना जोड्ने कोयाखोलाको पुल निर्माण सम्पन्न भएको हो ।
निर्माण सम्पन्न दुवै पुलको सोमबार गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले उद्घाटन गरेका छन् । वडाअध्यक्ष सोनाम ग्याल्जेन गुरुङको अध्यक्षतामा सम्पन्न एक समारोहका बीच दुवै पुल र वडा कार्यालयको पनि उद्घाटन गरिएको प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए ।

ट्रेल ब्रिज सपोर्ट यूनिट(टिबीएसयू)को आर्थिक तथा प्राविधिक सहयोग एवं हिमाली क्षेत्र विकास केन्द्रको प्राविधिक तथा सामाजिक समन्वयात्मक सहयोगमा गाउँपालिकाले पुल निर्माण गरेको हो ।
‘झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत दुवै पुल निर्माण भएका हुन्’, प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भने, ‘१२० मिटर लामा कोयाखोला पुल निर्माण गर्न ९८ लाख ९६ हजार रुपैयाँ खर्च भयो । ११० मिटर लामो सेराङखोला पुल निर्माण गर्न ९९ लाख ५४ हजार रुपैयाँ खर्च भएको छ ।’
सेराङखोलामा पुल निर्माण भएपछि प्रसिद्ध धार्मिकस्थल सेराङगुम्बा तथा सेराङस्थित विद्यालयमा आउन जान सजिलो हुने गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए । ‘बिही गाउँबाट सेराङ जान पहिले छ घण्टा भन्दा धेरै हिड्नुपथ्र्यो । एकदिनमा पुगेर फर्किन नसकिने अबस्था थियो’, अध्यक्ष गुरुङले भने, ‘अब नयाँ पुल तरेर तीनचार घण्टामा पुग्न सकिने भयो । स्कूल पढ्ने बालबालिकालाई पनि धेरै सजिलो हुने भयो ।’

कोयाखोलामा पुल बनेपछि मनास्लु क्षेत्र जाने पर्यटक तथा स्थानीयबासीलाई सजिलो भएको उनले बताए । ‘यसअघि राना र बिहीको बीचको कोयाखोला पुल पुग्न धेरै लामो उकालो ओह्रालो हिड्नु पर्ने थियो । तर अब नयाँ पुल बनेपछि स्थानीयबासीलाई पनि राहत भएको छ, मनास्लु पदमार्ग हिड्ने पर्यटकलाई पनि सजिलो भएको छ’, उनले भने ।
सोही सिलसिलामा अध्यक्ष गुरुङले बिहीस्थित यसअघि निर्माण सम्पन्न भएको वडा कार्यालय पनि उद्घाटन गरेका छन् । ३५ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको वडा कार्यालय उद्घाटन गरिएको उनले बताए ।
वडापुल उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गुरुङ, प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ, वडा अध्यक्ष सोनाम ग्याल्जेन गुरुङ, वडा सदस्य कालेङ लामा, सेराङ गुम्बाका प्रमुख लामा टुल्कु कर्मा र टुल्कु झिग्मे लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।





