
बिरेनचोक होमस्टेमा चुड्का, मारुनी, भजन, पाउँदुरे नाचसँगै स्थानीय उत्पादनको स्वाद
खैँजडीको ताल मिलाएर केहीबेर ब्राहमण, क्षेत्री समुदायको सांस्कृतिक भजनमा नाच्न र गाउन पाईन्छ ।
केही बेर भजन गाउँदै नाचेपछि जोशिला र रौसिला मगर समुदायका युवा युवतीहरु चुट्का देखेर बिरेनचोक होमस्टेमा बस्न जाने पाहुनालाई सँगै नाचुँनाचुँ, गाउँगाउँ लाग्छ । केहीबेर त्यहाँका पुरुष महिला बनेर मारुनी नाच्छन् ।
मारुनी नाचले सबैको ध्यान खिचिरहेको हुन्छ । केही बेरमा युवतीहरु घाँटु नाच्ने वृद्धवृद्धाहरु घाँटु नचाउने गर्छन । अन्यत्र लोप हुन लागेको घाँटु नाच गोरखा सदरमुकामबाट ६ किलोमिटर नजिकै गाउँमा अझै प्रचलित छ ।
घाँटु जोगाउन स्थानीयहरु होमस्टेमा आएका पाहुनालाई आफ्नो परम्परा प्रदर्शन गर्छन् । युवा युवती, महिला पुरुष, वृद्धवृद्धा सबै गाउँमा आएका पाहुनाको स्वागत सत्कारमा सँगसँगै रमाईलो गर्छन् । यसले त्यहाँको समुदायको मेलमिलाप पनि प्रष्टै झल्किन्छ ।
यी फरक फरक खालको संस्कृति गोरखा नगरपालिका वडा नम्बर १० बिरेनचोक सामुदायिक होमस्टेमा देख्न पाईन्छ । कला संस्कृति मात्रै नौलो छैन । यहाँको खाना पनि स्थानीय उत्पादन छ । गुन्दु्रक र भटमासको अचार, कोदोको सेल, ढिँडो, सिस्नुको साग यहाँ प्रसस्त पाइन्छ । पाहुनाले स्थानीय उत्पादन आफ्नो रोजाईमा खान पाउँछन् ।

बिरेनचोकको २० घरमा होमस्टे सुरु भएको छ । गोरखा सदरमुकामको संग्रहालय, गोरखा दरबार आउने पर्यटकका लागि बजार नजिकै होमस्टेको सुविधा छ । बस्ने खाने मात्र होईन यहाँका मगर, ब्राहमण समुदायको संस्कृति पनि अवलोकन गर्ने अवसर मिल्छ ।
गोरखा नगरपालिका भित्रका आन्तरिक पर्यटकलाई प्रतिब्यक्ति सात सय ५० र अन्यत्रका पाहुनालाई प्रतिदिन एक हजार रुपैयाँमा खाने बस्ने ब्यवस्था गरिएको होमस्टे संचालक समितिकी अध्यक्ष सम्झना राना मगरले बताइन् । पाहुनाका लागि बेलुकी खाना, बिहान चिया नास्ता, खाना र बासका लागि जम्मा एक हजार रुपैयाँको प्याकेजको व्यवस्था छ ।
होमस्टेको प्रर्वद्धन गर्न महिलाहरु अग्रसर भएका छन् । होमस्टेका लागि अहिले सामुदायिक भबन बनाउन सुरु गरिएको वडा अध्यक्ष देवी बस्नेतले बताए । ‘स्थानीयको आम्दानी बढोस्, यहाँको प्रचार प्रसार होस् भन्ने चाहनाले होमस्टे सुरु गर्न वडा कार्यालय, नगरपालिकाले पनि मद्दत गरेको छ’ उनले भने ।
त्यहाँका अधिकांश महिलाहरु घरधन्दामै सिमित हुनु परेको, आफ्नो सिप र संस्कृति लोप हुने अवस्थामा पुगेकाले होमस्टे सञ्चालन गर्ने योजना बनाएको स्थानीय कमला रानाले बताईन् । ‘बजार नजिकै होमस्टे संचालन गर्दा पाहुना प्रसस्त पाउन सकिने हाम्रो विश्वास छ’ उनले भनिन् ।




