
भलायोबास सामुदायिक बनको सहयोगमा रामेश्वरीका सबै विद्यार्थीलाई पोशाक बितरण
शहिदलखन गाउँपालिका वडा नम्बर ८ को भलायोबास सामुदायिक बन उपभोक्ता समितिको आर्थिक सहयोगमा रामेश्वरी माध्यामिक विद्यालयका विद्यार्थीलाई पोशाक बितरण गरिएको छ ।
७० प्रतिशतभन्दा धेरै दलित तथा विपन्न समुदायका विद्यार्थी पढ्ने सो विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक तथा विविध सहयोगी सामग्री प्रदान गरिएको हो ।
विद्यालयमा अध्ययनरत सबै छात्र छात्रालाई टाई, बेल्ट, ट्रयाकसुट, टिसर्ट बितरण गरिएको वडा अध्यक्ष काशिनाथ अम्गाईले बताए ।
भलायोबास बन उपभोक्ता समितिले उपलब्ध गराएको दुई लाख, वडा नम्बर ८ का स्थानीय समाजसेवी राजकुमार ढकालले २० हजार र बाँकी विद्यालयको आन्तरिक स्रोतबाट खर्च जुटाएर दुई सय ४३ जना विद्यार्थीलाई पोशाक उपलब्ध गराइएको विद्यालयले जनाएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भरतप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति शहिदलखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगर, विषेश अथिति वडा अध्यक्ष काशिनाथ अम्गाई, प्रधानाध्यापक जिबन अम्गाई, भलायोबास सामुदायिक बनका अध्यक्ष कृष्णप्रसाद अम्गाई, टोल सुधार समितिका अध्यक्ष रुद्रबहादुर पुलामी, सामाजिक अगुवा बिमल रम्तेल, ज्ञानबहादुर रम्तेल, विद्यार्थी अविभाबक संघका अध्यक्ष इन्द्रराज ढकाल, लगायतले मन्तब्य राखेका थिए ।





