
परिवार नियोजन गर्नेमा २० देखि ३० वर्ष उमेर समूहका पुरुष धेरै
गोरखामा परिवार नियोजन गर्नेहरुमा २० देखि ३० वर्ष उमेर समूहका पुरुष धेरै देखिएका छन् । सुनौलो परिवार नेपाल ( मेरी स्टोप्स) को सहयोगमा स्वास्थ्य कार्यालय गोरखाले बिभिन्न पालिकामा गरेको निशुल्क शिविरमा स्थायी बन्ध्याकरण गराउने पुरुषको संख्या धेरै छ ।
आठ वटा पालिकामा गरिएको शिविरमा ६१ जनाले सेवा लिएका मध्ये १३ जना महिला र ४८ जना पुरुषले स्थायी बन्ध्याकरण सेवा लिएका स्वास्थ्य कार्यालयकी फोकल पर्सन सुकमेल बरालले बताईन् । गण्डकी गाउँपालिकाको घ्याल्चोक र गोरखा नगरपालिकाभित्र गोरखा अस्पतालमा शिविर संचालन हुन बाँकी छ ।
पालुङटार नगरपालिकामा एक महिला, सात पुरुष, अजिरकोटमा पाँच पुरुष, बारपाक सुलिकोटमा एक जना महिला, सिरानचोकमा सात जना पुरुष तीन जना महिलाले सेवा लिए । धार्चे गाउँपालिकाको माछाखोलामा १२ जना पुरुष तीन जना महिला, आरुघाटमा १० जना पुरुष, भीमसेन थापामा छ जना पुरुष र तीन जना महिला र शहिदलखन गाउँपालिकामा दुई जना महिला र एक जना पुरुषले सेवा लिएका छन् । सेवा लिने पुरुषले भ्यासेक्टोमी र महिलाले मिनिल्याप सेवा लिएका छन् ।
‘बन्ध्याकरण गराउनेहरुको संख्या अपेक्षा भन्दा कम भयो’ बरालले भनिन् ‘कोभिड १९ को कारणले पनि हुन सक्छ ।’ चुमनुब्री गाउँपालिका बाहेकका अन्य स्थानीय तहमा शिविर संचालन हुन भएको हो । शिविरमा दुई सय भन्दा बढिले सेवा लिने अनुमान कार्यालयको थियो । तर सेवा लिनेको संख्या एक सय पुग्ने संभावना पनि कम छ ।




