
गोरखाको दुई नाकाका लागि बिओपी स्वीकृत
गोरखाको रुईला र ङुइला दुवै नाकामा सशस्त्र प्रहरीको सीमा सुरक्षा इकाइ(बीओपी) रहने भएको छ । तिब्बतसँगको सीमानामा रहेको चुमनुब्री गाउँपालिका वडा नं. १ को लार्केबजारमा र सोही गाउँपालिकाको वडा नं. ७ सेमोङमा बिओपी(बोर्डर आउटपोष्ट) राख्न गृहमन्त्रालयले निणर्य गरेको हो ।
गोरखामा दोस्रो चरणमा बिओपी राख्ने निणर्य भएको सशस्त्र प्रहरी बल, गोरखा नं. २९ गुल्मका प्रमुख डिएसपी राजेन्द्र अधिकारीले जानकारी दिए । ‘पहिलो चरणमा केही जिल्लामा बिओपी स्थापना भइसकेका छन्’, डिएसपी अधिकारीले भने, ‘गोरखामाचाहिँ दोस्रो चरणमा बिओपी राख्ने भनेर मन्त्रालयले निणर्य गरेको छ ।’ पूर्वाधार तयार गरिसकेपछि यथासक्य छिटो बिओपी राखिने उनले बताए ।
बिओपी स्थापनाका लागि प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्टिूय अनुसन्धानका जिल्ला प्रमुखहरुले स्थलगत अध्ययन गरेर फर्केका छन् । ‘गोरखामा दुई ठाउँमा बिओपी स्वीकृत भएको छ । हामीले स्थलगत अध्ययन गरिसकेका छौं’, प्रजिअ तीर्थराज भट्टराईले भने, ‘अहिले नै भवन बनाएर राख्न सक्ने अबस्था छैन ।
त्यसैले कुनै घर भाडामा पाउनेबित्तिकै र मौसमले साथ दिने बित्तिकै बिओपी स्थापना गर्नसक्ने चरणमा छौं ।’ गोरखाको बिओपीमा ३४ जनादेखि ५० जनासम्म सशस्त्र प्रहरी रहनसक्ने उनले बताए ।
बिओपीका लागि तत्कालका लागि सशस्त्र प्रहरीको गुल्म २९ गोरखामा रहेका प्रहरीबाटै आन्तरिक रुपमा व्यवस्थापन गरिने डिएसपी अधिकारीले बताए ।




