
बारपाकमा केन्द्रीय प्रशारण लाईनको बिजुली बल्यो
झण्डै एकहजार घरधुरी एकैठाउँमा झुरुप्प रहेको बारपाक गाउँमा पहिलो पटक केन्द्रीय प्रशारणको बिजुली बत्ती बलेको छ । नेपाल विद्युत प्राधिकरण गोरखा बितरण केन्द्रले सोमवारदेखि बारपाकमा केन्द्रीय प्रशारण लाइनको विजुली बालेको हो ।
प्राधिकरणले करिब तीन करोड रुपैयाँ लगानीमा बालुवा बजारदेखि बारपाकसम्म ११ केभी क्षमताको १० किलोमिटर दुरीमा लाईन बिस्तार गरेको केन्द्रप्रमुख माधव न्यौपानेले बताए ।
‘सोमबारदेखि बारपाकमा बिजुली बलेको छ’ बितरण केन्द्र गोरखाका प्रमुख माधब न्यौपानेले भने ‘एक महिनाभित्र पाँचसय घरमा केन्द्रीय प्रशारणको लाईनबाट बत्ती बल्छ ।’ शाखा लाईन बिस्तार र घरघरमा मिटर जडानको काम मंगलबारबाट सुरु हुने उनले बताए ।
यसअघि १३० किलोवाटको लघुजलविद्युतबाट बारपाकका स्थानीयले बिजुलीबाल्दै आएका थिए । उक्त लघु जलविद्युतबाट क्षमताअनुसार उत्पादन नहुँदा बारपाकका स्थानीयले आवश्यकता अनुसार बिजुली उपभोग गर्न पाएका थिएनन् । ‘निजी कम्पनीबाट उत्पादित बिजुली भएकाले अब कम्पनीले चाहेमा त्यो केन्द्रीय प्रशारण लाईनमा पनि जोड्न मिल्छ’, बितरण केन्द्र प्रमुख न्यौपानेले भने ‘अन्यथा जनताले रोजेर पनि सेवा लिन पाउँछन् ।’ लाङ्घाली सप्लायर्स एण्ड निर्माण सेवाले बारपाकसम्म लाईन बिस्तारको जिम्मा लिएको थियो ।
गोरखामै पहिलो पटक बारपाकमा ३० वर्ष अघिदेखि लघु जलविद्युत संचालनमा थियो । बारपाक गाउँ र आसपासका गरी चौधसय भन्दा धेरै घरधुरीको माग धान्न लघु जलविद्युत आयोजनालाई धौधौ थियो ।
‘केही समययता बत्ती बाल्न पनि समस्या थियो’ गाउँपालिका अध्यक्ष बिष्णु भट्टले भने ‘केन्द्रीय लाईन पुगेपछि उद्योग चलाउन, स्वास्थ्य चौकी, वडा कार्यालयबाट सेवा दिन पनि सहज हुनेछ ।’ सोमबार केन्द्रिय प्रशारण लाईनको उद्घाटन गरेका अध्यक्ष भट्टले भुकम्पको केन्द्रबिन्दु भएकाले बारपाकमा ब्यवशाय गर्न, त्यहाँ संचालित पार्क, विद्यालयलगायत अन्य ठाउँका लागि पनि विद्युति करणले थप मद्दत पुग्ने बताए ।
बारपाकका सबै घरमा बिजुली बलेपछि गोरखामा ८५ प्रतिशत सर्वसाधारण केन्द्रिय प्रशारण लाईनको पहुँचमा रहनेछन् । अन्य केही ठाउँमा लघु जलविद्युतबाट सेवा लिईरहेका छन् । ‘विद्युति करण सहज रुपमा गर्न भौगोलिक बिकटता, जंगल क्षेत्र धेरै भएकाले प्रशारण लाईन लैजान समस्या छ’ बितरण केन्द्र प्रमुख न्यौपानेले भने ।




