
गोरखामा सरकार बिरुद्ध कांग्रेस कार्यकर्ताको प्रर्दशन (फोटो फिचर सहित)
सरकार बिरुद्ध नेपाली कांग्रेस गोरखाका सयौँ कार्यकर्ताले सदरमुकाममा बिरोध प्रर्दशन गरेका छन् ।
गाउँगाउँबाट आएका कार्यकर्ता, जिल्ला एवं केन्द्रिय स्तरका नेताले बिरोध कार्यक्रममा सरकारको चर्को आलोचना गरे ।

बिरोध सभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठले सरकार निरङकुश भएकाले तत्काल हटाउनुपर्ने धारणा राखे । ‘कार्यपालिका, न्यापालिका सबै संवैधानिक निकाय प्रधानमन्त्रीले आफ्नो मातहत लिएका छन’ केन्द्रिय सदस्य श्रेष्ठले भने ‘आफ्ना मान्छेलाई जोगाउने, सरकारको गलत कामको टिका टिप्पणी गर्नेलाई सिध्याउने गरिएको छ ।’
अर्का केन्द्रिय सदस्य टिएन योगीले सरकारले हत्या, हिंसा, बलात्कार, भष्ट्राचार जस्ता जघन्य अपराधको न्यूनिकरण गर्न नसकेको आरोप लगाए ।

‘जनताले चाहेको जस्तो अधिकार दिन सरकार असफल भयो’ उनले भने ‘सरकार सँग जनता आक्रोशित छन्, नागरिकलाई समृद्धी दिन सरकारले सकेन ।’
कार्यक्रममा कांग्रेस जिल्ला सभापति हरिबहादुर घलेले सरकार बिरुद्ध लड्न र नागरिकको आश्यकताका लागि कांग्रेस भित्र सबै एक हुनुपर्ने धारणा राखे ।

तिब्बत सँग सिमाना जोडिएको छेकम्पार, सामागाउँदेखि जिल्लाका सबै ठाउँमा कार्यकर्ता सहभागी भएको जिल्ला सचिव नन्द प्रसाद न्यौपानेले बताए । कांग्रेस पार्टी कार्यालय तिनधारेबाट निस्किएको बिरोध ¥याली बसपार्क, शक्तिचोक, हुँदै हरमटारीमा पुगेर कोण सभामा परिणत भएको थियो ।





