| सोमवार, कार्तिक २३, २०८३

नेपाने मावि केराबारीका पूर्व प्रअ शाह थुनामा

नेपाने मावि सिरानचोक १ केराबारीका पूर्व प्रधानाध्यापक शिवकुमार शाह कारागार चलान भएका छन् । लिखितसम्बन्धी कसुर मुद्धामा मुद्धाअन्तर्गत अनुसन्धान भइरहेका शाहलाई गोरखा जिल्ला अदालतले बिहिबार पुर्पपक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

शाहले सो विद्यालयको खातामा रहेको सरकारी रकम हिनामिना गर्ने बद्नियतले विद्यालय व्यवस्थापन समितिको निणर्य पुस्तिकामा निणर्य थपघट गरेको, सरोकारवालाहरुको किर्ते हस्ताक्षरसमेत गरेको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत एकगते मुद्धा दर्ता गरेको थियो । आयोगको आग्रहमा गत मंसीर ११ गते पक्राउ परेका शाहलाई गोरखा जिल्ला अदालतले बिहिबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

४७ बर्षीय शाह धनुषा जिल्ला विदेह नगरपालिका ६ गिद्धा निवासी हुन् ।
भूकम्पपछि विद्यालय पुनर्निर्माणका लागि प्राप्त १६ लाख रुपैयाँ अनियमितता गरेको उनीमाथि आरोप थियो । आर्थिक बर्ष २०७२/०७३ मा तत्कालीन जिल्ला शिक्षा कार्यालयले भवन मर्मतका लागि प्रदान गरेको १६ लाख १० हजार रुपैंया प्रअ शाहले ‘बिल मिलाएर’ अनियमितता गरेको स्थानीय सेवाराज गुरुङले जानकारी दिए ।

२०५९ सालदेखि प्रधानाध्यापक पदमा रहेर काम गरेका प्रअ शाहले निमावि दरबन्दीमा रहेर पनि मावि दरबन्दीसरह तलब भत्ता लिएर सरकारी ढुकुटीको अपचलन गरेको पनि स्थानीयबासी आरोप थियो ।

विद्यालयमा भएको अनियमितताको विरोध गर्दै स्थानीयबासीले गत जेठ १२ र १३ गते विद्यालयमा तालासमेत लगाएका थिए । तर उनले प्रअ पद छाड्ने सहमतिपछि विद्यालय खुलाइएको स्थानीय उत्तम गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्