
उत्तरी गोरखामा तिब्बत बाट सामान ढुवानी सस्तो
दरौँदी ः जिल्लाको चुमनुब्री गाउँपालिकाको स्थानीयहरुले नेपाली खाद्यन्न भन्दा चिब्बत बाट ल्याउने खाद्यन्न सस्तोमा किन्न पाइने बताएका छन् । तिब्बत सँग सिमा जोडिएको चुमनुब्री गाउँपालिका स्थित सामागाउँका बीरबहादुर गुरुङका अनुसार नेपाली सामान भन्दा तिब्बती सामान सस्तोमा उपभोग गर्न पाइने गरेको छ ।
‘बेला बेला बोर्डर खुल्छ त्यै बेला सबै गाउँलेले तिब्बती बजारबाट खानुकुराहरु ल्याउँछन्’ वडा अध्यक्ष समेत रहेका गुरुङले भने ‘धेरै कुराहरु सस्तोमा पाइन्छ नी । हामीले गोरखाबाट सामान ल्याउँदा एक हप्ता लगाएर खच्चडमा बोकाएर ल्याउन पर्छ । तिब्बत बाट ल्याउँदा दुई दिनमै ल्याइन्छ ।’
गोरखाको लार्के भज्याङको बाटो भएर तिब्बतको कुन्दाङ बजार पुगेर उत्तरी गोरखाका स्थानीयले खाद्यन्न सामाग्री ल्याउने गर्छन । गुरुङका अनुसार नेपाली बजारमा पाइने र सोही गुणस्तरको एक बोरा चामल तिब्बतबाट ल्याउँदा २ हजार रुपैँया सम्म अन्तर पर्छ । नेपाली बजारमा उत्पादन भएको सबै भन्दा सस्तो सोना मंसुली चामल सामागाउँ पु¥याउँदा प्रतिबोरा चार हजार रुपैँयामा विक्रि हुने गरेको छ । सोही गुणस्तरको चामल तिब्बतबाट ल्याउँदा दुई हजार रुपैँयामा गाउँमै आइपुग्ने गुरुङको भनाई छ ।
चुमनुब्री गाउँपालिकाको कुनै पनि वडा सडक सञ्जालले छोएको छैन । उत्तरी गोरखाका बासिन्दाको ढुवानीको माध्यम भनेकै खच्चड, घोडा, चौँरी र झुप्पा हुन् ।
‘बोर्डर खुलेको बेला गाउँलेले खच्चड, चौँरीहरु भाडामा लिएर पनि सामान बोक्छ’ तिब्बत सँग सिमाना जोडिएको गोरखाको अन्तिम गाउँ साम्दोका मिंग्मार सोनामले सदरमुकाममा भएको भेटमा भने ‘सबै मान्छे धनी छैन । त्यै भएर सस्तोमा पाइने भएर उताकै सामान किन्न थालेको छ ।’
आधिकारीक रुपमा दुई सरकारको सहमतीमा सिमा खुल्ने भएपनि तिब्बतबाट धार्मिक गुरुहरु गोरखाका गुम्बाहरुमा आउने, जाने बेलामा पनि स्थानीयले खाद्यन्न ल्याउने गरेको स्थानीयहरुले बताए । तिब्बतबाट स्थानीयले चामल सँगै नुन, पिठो, तथा दैनिक उपभोग्य सामाग्रीहरु ल्याउने गर्छन ।
त्यस्तै यता छेकम्पारका बासिन्दाले पनि तिब्बत सामाग्री नै सस्तो भएको बताएका छन् । छेकम्पारबाट पनि दुई दिनमा तिब्बतको जोंखा किरोङ बजार पुगेर स्थानीयले खाद्यन्न ल्याउने स्थानीय धावा लामाले बताए ।
‘सामान त तिब्बतकै सस्तो पर्छनी’ उनले भने ‘यहाँबाट केहि घण्टा हिँडियो भने तिब्बती सवारी साधन भेट्न पुगिन्छ । मानिसहरु गाडी चढेर बजार जान्छन् । यता आउँदा आफ्ना जनावारलाई बोकाएर सामान लिएर आउँछन् ।’ उनका अनुसार चिया, नुन, घ्यू, मासु तथा घरायसी दैनिक उपभोग्य बस्तुहरु तिब्बतकै सस्तो पर्छ ।