
सामुदायिक वन उपभोक्ता महासंघद्वारा ज्ञापन पत्र पेश
सामुदायिक वन उपभोक्ता महासंघ, गोरखाले वन ऐन र नियमावली अनुसार रुख कटान तथा बिक्री वितरण गर्न लगाइएको रोक फुकुवा गर्न माग गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारी तथा डिभिजनल वन अधिकृतसमक्ष ज्ञापन पत्र पेश गर्दै महासंघले उच्चस्तरीय छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको छ ।
जिल्ला महासंघका अध्यक्ष कमल लामिछाने नेतृत्वको टोलीले पेश गरेको ज्ञापन पत्रमा गत जेठ १५ गते वन क्षेत्रबाट काठ कटान ओसारपसार तथा विक्रीवितरणमा लगाइएको रोक महासंघकै पहलमा खोल्ने सहमति भएकोमा जेठ २८ गते सालबाहेकका काठमात्रै खुलाई सालको काठलाई पुन प्रतिवन्ध गरेकोमा आपत्ति जनाइएको छ । साथै सरकारको यस निर्णयले देशभरका २२ हजार दुईसय ६६ सामुदायिक वन उपभोक्ता महासंघले व्यवस्थापन गरिरहेका २९ लाख घरधुरीका एक करोड ४० लाख उपभोक्ताहरु सालको काठ उपभोग गर्नबाट वञ्चित भएको उल्लेख छ ।
सरकार जनताको सेवक हुनुपर्नेमा उल्टै समुदायले उपभोग गरिरहेको अधिकारसमेत कटौती गर्नु लोकतान्त्रिक गणतन्त्र माथिको प्रहार भएको महासंघले आरोप लगाएको छ । महासंघले रोकिएको वन पैदावार खुलाउन र उच्चस्तरीय छानविन समितिको प्रतिवेदनमा उल्लेखित सुझावहरु कार्यान्वयन गराउन सरकार समक्ष अपिल गरिएको छ ।




