
गोरखामा आज १३ जना कोरोना संक्रमित थपिए
गोरखा जिल्लाका बिभिन्न चारवटा पालिकामा आईतबार १३ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले १८ जना थपिएको उल्लेख गरेकामध्ये पाँच जना भने यसअघि नै कोरोना पोजेटिभ भएर गोरखा नगरपालिकाभित्र होम आइशोलेसनमा बसेकाहरु रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
आईतवार थपिएकामध्ये गोरखा नगरपालिका वडा नम्बर ८ की एक महिला वडा नं. ९ को एक महिला एक पुरुष, वडा नं. १० को एक पुरुष गरी चार जना रहेका छन् ।
आरुघाट गाउँपालिकाको वडा नम्बर ८ का पाँच जना पुरुषमा पनि कोरोना देखिएको छ । सिरानचोक गाउँपालिका वडा नम्बर १ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेले बताए ।
यस्तै भिमसेन थापा गाउँपालिका वडा नम्बर ४ को एक महिला, एक पुरुष र ७ को एक महिला पनि संक्रमित भएका छन् ।
आईतवार साँझसम्म कोरोना संक्रमितको संख्या गोरखामा छ सय ९३ पुगेको छ । यो संख्या गोरखामा स्वाब संकलन गरिएकाहरुको हो ।
आईतवारसम्म गोरखामा एक सय ४२ जना होम आइशोलेनमा उपचाररत छन् भने अन्य निको भएर घर फर्किइसकेका छन् ।




