| सोमवार, कार्तिक २३, २०८३

विदेश सचिव सहभागी हुने कार्यक्रममा मन्त्री र सिइओ नआउने

भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृङ्गला सहभागी हुने गोरखाको कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत र पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञावली सहभागी नहुने भएका छन् ।


कार्यक्रम तालिकामा वारियताक्रम नमिलेका कारण मन्त्री तथा सिइओले कार्यक्रम रद्ध गरेकाका हुन् ।
पुनर्निर्माण सम्पन्न भएका तीनवटा विद्यालय विदेश सचिव हर्षबद्र्धन, मन्त्री बस्नेत र सिइओ ज्ञावलीसंयुक्त रुपमा उद्घाटन तथा हस्तान्तरण हुने कार्यक्रम यसअघि तय भएको थियो ।


‘उहाँहरु आउने कार्यक्रम थियो तर मन्त्रीज्यू र सिइओले व्यस्तताका कारण नआउने कुरा भयो’, उद्घाटन हुने महालक्ष्मी माविका व्यवस्थापन समितिका अध्यक्ष शिव केशीले भने, ‘खै किन कार्यक्रम रद्ध गर्नुभयो, भित्रि कुरा त थाहा भएन तर नआउने निश्चित हो ।’ सिइओ ज्ञावलीले बुधबार कार्यक्रममा आउन नसक्ने बारे जानकारी गराएको र मन्त्री बस्नेत नआउने बारे बिहिबार खबर आएको केशीले भने ।


कार्यक्रममा आसनग्रहण तथा मन्तव्य राख्नमा वरियताक्रम नमिलेका कारण व्यस्तता देखाएर मन्त्री र सिइओले कार्यक्रम रद्ध गरेको स्रोत बताउँछ । कार्यक्रम तालिका बुधबार सार्वजनिक भएको थियो । शुभकामना मन्तव्य राख्नका लागि सिइओ ज्ञावली, मन्त्री बस्नेत र त्यसपछि सचिव हर्षवद्र्धनको नाम कार्यतालिकामा उल्लेख थियो ।


तर मन्त्री रामशरण बस्नेतले कार्यव्यस्तताका कारण कार्यक्रममा सहभागी हुन नपाएको बताए । ‘आफ्नो गृहजिल्लामा विदेशी पाहुनलाई स्वागत गर्न पाउनु खुशीको कुरा थियो, तर मन्त्रालयको आन्तरिक कामले निस्कन सकिएन’ मन्त्री बस्नेतले भने, ‘अन्य चर्चा चलेको बिषयका कारण नआएको होइन, म त्यस्तो चाहने मान्छे पनि होइन ।’


मन्त्री बस्नेत र सिइओ ज्ञावली नआउने भएपछि विद्यालयमा राख्न तयार गरिएको ताम्रपत्र पनि हतार हतार परिवर्तन गरिएको छ । परिवर्तित ताम्रमत्रमा मन्त्री र सिइओको नाम हटाएर विदेश सचिव हर्षवद्र्धन र पुनर्निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटाको नाम उल्लेख गरिएको अध्यक्ष केशीले जानकारी दिए ।

विदेश सचिव हर्षवद्र्धन र प्राधिकरणका सचिव सापकोटाले गोरखा नगरपालिका ९ को महालक्ष्मी मावि, सोही नगरपालिका ८ को रत्नलक्ष्मी मावि र वडा नं. १० मा पुनर्निर्माण सम्पन्न भएको तारा माविको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको भारत सरकारबाट सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाका गोरखा जिल्ला संयोजक राम सापकोटाले जानकारी दिए ।
विदेश सचिव हर्षवद्र्धन शुक्रबार १२ बजे नेपाली सेनाको हेलिकोप्टरबाट गोरखा आउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्